काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एक जना नायव महानिरीक्षक (डीआईजी)को पद रिक्त भएको छ ।
एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस भएर पनि बढुवा हुन नसकेका डीआईजी पोषराज पोखरेल ५६ बर्से उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि ती पद रिक्त हुन गएको हो । एआईजी जोशी गत बुधबार र डीआईजी पोखरेल गत शुक्रबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । दुबै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका व्याची हुन् ।
एआईजीको रिक्त एक पदमा डीआईजीहरू रामदत्त जोशी, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, राजेशनाथ बास्तोला, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, अर्जुन चन्द ठकुरी र यज्ञविनोद पोखरेल प्रतिस्पर्धामा छन् । डीआईजीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोजकुमार केसी र राजन अधिकारी एक महिनाअघि मात्रै डीआईजी भएकाले उनीहरुको भने सम्भावना देखिँदैन ।
डीआईजीमा भने एकजना एआईजी हुने बितिक्कै दुई पद खाली हुनेछ । सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरूमध्येबाट बढुवा गरेपछि थप एक जना पद रिक्त हुने भएको हो ।दुई डीआईजीमा एसएसपीहरु ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द सबैभन्दा अगाडि छन् । तीनै जना महानिरीक्षक कुँवरकै ब्याची हुन् । एक महिनाअघि डीआईजी बढुवा हुँदा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको दबाबमा उनीहरुलाई बढुवा हुनबाट रोकिएको थियो । प्रहरी संगठनमा उनीहरुभन्दा निकै पछि भर्ना भएकालाई डीआईजीमा बढुवा गरिएको थियो ।
उनीहरु डीआईजीमा बढुवा भएपनि बढीमा आगामी चैत ५ सम्म मात्रै बहाल रहन्छन् । केहीले भने उमेरहदका कारण त्यो भन्दा पहिला नै अनिवार्य अवकाश पाउँछन् ।डीआईजी बढुवाको प्रतिस्पर्धामा डीआईजी दानबहादुर कार्कीकै ब्याचीहरू र राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली पनि प्रतिस्पर्धामा छ ।
यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट आएका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी पनि दाबेदारलगायत छन । सत्ता परिवर्तनको तयारीसँगै उनीहरु पनि डीआईजीको प्रबल दाबेदार बनेका छन् ।
यसबाहेक ठूलो संख्यामा भदौ १५ गते प्रहरी अधिकृतहरू अवकास हुँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया