काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी वर्षासँगै सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन् । सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका हुन् ।
बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीले दुःख जनाउनुको साथै उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।
साथै विपद्बाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।
‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,’ प्रधानमन्त्रीले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया