कञ्चनपुर जलमग्न, सुतिरहेका सात महिने शिशुको खाटबाट खस्दा घरमै डुबेर मृत्यु

लोकपथ
2k
Shares

महेन्द्रनगर । लगातारको वर्षाका कारण कञ्चनपुर जलमग्न बनेको छ । कञ्चनपुरमा भइरहेको अत्यधिक वर्षाले महेन्द्रनगर, दोधाराचाँदनी, लालझाडी पुनर्बास र बेलडाँडी लगायत क्षेत्रका धेरै स्थानमा घर–बस्ती डुबानमा परेका छन् । लगातारको वर्षाका कारण कृष्णपुर नगरपालिका–१ पहरियामा डुबान हुँदा घरभित्र सुतिरहेका सात महिने शिशु सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घरभित्र पानी पसेपछि खाटबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार दिउँसो बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको चौधर नदीमा माछा मारेर फर्कने क्रममा नदी तर्ने बेला नदीको जलस्तर बढेर तर्न नसक्दा बेपत्ता भएका डम्बर चौधरी फेला नपरेको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले बताए ।

यस्तै, कञ्चनपुरमा कल्भर्ट भत्किँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान बेदकोट नगरपालिका– ७ सुडामा कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कल्भर्ट भत्किएपछि अवरुद्ध राजमार्गको वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी–पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्र चौधर नदी बेलडाँडी गाउँपालिका– ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका–३, ४, ५ र बेलौरी नगरपालिका–१० क्षेत्र डुबानको जोखिममा परेका छन् । चौधर नदीले नहरको ड्याम माथिबाट पानी बग्न थालेपछि उक्त क्षेत्रका वासिन्दा त्रसित बनेका छन् । महाकाली नदी पारी दोधारा चाँदनी नगरपालिका–८ मा रहेको महाकाली नदीस्थित तटबन्ध तोडेर नदीको पानी सुन्दरनगर बस्तीमा पसेको छ । बस्तीमा पानी पस्दा सिंगो बस्ती डुबानमा परेको छ ।

उता, जोगबुढा नदीमा पानीको बहाव बढ्दै गएपछि दोधाराचाँदनी नगरपालिका–१० शान्ति टोल, कुतियाकबर र वडा नम्बर ८ सुन्दरनगरलगायतका बस्ती बाढीको उच्च जोखिममा परेका छन् । जोगबुढा र महाकाली नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ । कञ्चनपुर जिल्लाको दोधारा वर्षा मापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी (१०३ मिमि) वर्षा मापन गरिएको छ र थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान साखाले जनाएको छ । सोको प्रभावले उक्त क्षेत्र भई बहने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तह आसपास रहेकाले दिउँसोसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।


यस्तै कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई ठूला नदी चौधर र दोदामा बाढीको सम्भावना बढेसँगै उनीहरू पशु चौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । अविरल वर्षाका कारण दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएको स्थानीय पुरन रानाले बताए ।

निरन्तर वर्षाका कारण कञ्चनपुर जिल्लामा हालसम्म तीन सय ३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भीमदत्त नगरपालिका– १८ सुकुम्वासी बस्ती महेन्द्रनगरका दुई सय ५० परिवार, दोधरा चाँदनी नगरपालिका–१० कुतियाकबर र शान्ति टोलका ७२ परिवार, पुनर्वास नगरपालिका– ५ र ७ का ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको मौसम पूर्मानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ । लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यस्तै, लगातारको अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ । कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ । खोलामा आएको बाढीले सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो । कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन् । कल्भर्ट भत्किएपछि अवरुद्ध राजमार्गको वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी– पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?