डुबानमा परेकाहरुलाई धमाधम सुरक्षित स्थानमा सार्दै सशस्त्र प्रहरी

लोकपथ
252
Shares

काठमाडौं । लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुबानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट इलाकामा डुबानमा परेको घरपरिवारका करिब ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेश बडुवाटोलबाट खटिएको सुरक्षा फौजले सोमबार सुरक्षित स्थानमा सारेको होे ।त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुबानमा परेका ३ घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाकै भीमदत्त नगरपालिका–११ ब्रमिनी र वडा नं. १२ ऐरीगाउँ इलाकामा भुजेल खोलामा पानीको बहाव बढेर डुबानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुर इलाकामा कटैनी नदीमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुबानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । डुबानमा परेकाहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बीओपी छोटिपलीयाको सुरक्षा फौज खटिएको थियो ।

त्यस्तै सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदीमा पानीको बहाव बढेर बस्तीमा पस्दा डुबानमा परेका ६ घरपरिवारलाई सामानसहित बीओपी फूलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यको लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी ५ सय ४६ इकाइहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ ।

त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका १ सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका १ सय २० वटा मोटर बोट तथा -याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेशहरुमा तयारी हालतमा राखिएको छ । बाढी पहिरो तथा डुबानमा परेकाहरुलाई तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं. १११४ मा समेत खबर गर्न सकिने सशस्त्र प्रहरी बलका सह प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?