गीतको बोलबाटै हुन थाल्यो एमाले–माओवादीबीच घोचपेच

सुनियो फत्तेमान, मुरलीधर, अन्जु पन्त, रामकृष्ण ढकाल र कुन्ती मोक्तानसम्मले गाएका गीतको बोल

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुमाझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फत्तेमान राजभण्डारीको एउटा गीतको बोल गाएका थिए । त्यो गीत थियो, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले ।’

कांग्रेस–एमालेबीच समझदारी हुनुअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता भइरहेको थियो । असार १५ गते एमाले अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर तीन घण्टा लामो भेटवार्ता गरेपछि ‘नरमाइलो मानेका’ प्रधानमन्त्री दाहालले सो भेटबारे प्रष्ट पार्न पटक पटक आग्रह गरे । तर, ओलीले दही चिउरा खान बोलाएको बाहेक भेटवार्ताको ‘भित्री कुरा’ केही बताएनन् । तीन दिनसम्मको लगातारको भेटवार्तामा ओलीले दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई नै बलियो बनाएर लैजाने प्रतिज्ञा नै गरे । प्रधानमन्त्री दाहालको सचिवालयले पनि त्यहीअनुसारको विज्ञप्ती जारी ग¥यो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठकमा सरकार कुनै समस्यामा नरहेको बरु राम्रोसँग सबैले काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । दाहालले यस्तो भनिरहँदा सँगै रहेका माओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ‘मैले पाएको सूचना अलि फरक छ है’ भनेर पनि भनेका थिए । तर प्रधानमन्त्री दाहालले त्यसतर्फ कुनै ध्यान दिएनन् ।

ओलीसँगको लगातारको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाल ओलीले ‘राजनीतिक बेइमान गर्दैनन्’ भन्नेमा ढुक्क थिए । तर बिहान उठ्दा अघिल्लो दिन नै कांग्रेस–एमालेबीच सत्ता सहकार्यको समझदारी भइसकेको थाहा पाएपछि उनी विक्षिप्त बने ।
कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्यको समझदारीकै भोलिपल्टदेखि एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै आएको छ । पछिल्ला दिनमा भने एमालेले राजीनामाको मागलाई झन चर्काे बनाउँदै गएको छ ।

कांग्रेससँग भएको सत्ता सहकार्यको समझदारीको तीन दिनसम्म पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पठायो । त्यही दिन भावुक हुँदै प्रधानमन्त्री दाहालले ओलीको बोली, व्यवहार, भनाइ अनि गराइप्रति अचम्म मान्दै फत्तेमान राजभण्डारीको सो गीत गाएका थिए ।

प्रधानमन्त्री दाहालले एमालेका आठ जना मन्त्रीहरुसामु मात्र सो गीतको बोल सुनाएका थिए । तर अहिले पछिल्ला दिनमा गीतको बोलमार्फत संसदमै घोचपेच हुन थालेको छ ।आज सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै गायक मुरलीधरको ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाउन सुझाव दिएका थिए । देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् । उक्त विषयको प्रसंग उप्काउँदै गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले ? भन्दै गीत गाएर बसेको छ । बरू, उडायो सबै सपना हुरीले भन्ने गीत गाए हुने नि ।’

गैरे बोलेको केहीबेरपछि नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीत गुन्गुनाएरै एमालेलाई जवाफ फर्काएका छन् । ‘कुन्ती मोक्तानले एउटा गीत भन्नुभएको छ, कति जल्छौ आरिसले अझै जल्दै गर । म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर । रे ग रे सा सा रे ग रे सा…,’ उनले भने ।

साथै, उनले संसदीय राजनीतिमा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया भएको पनि बताए । ‘संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने र ढल्ने स्वभाविक हो, मिल्नेहरूको बीचमा गठबन्धन हुन्छ, नमिल्नेहरू कुर्सी परिवर्तन हुन्छ । यो सामान्य हो,’ उनले भने, ‘संविधानमा सुधार होइन, राजनीतिक नेतृत्वमा एटिच्युडमा सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

आइतबारको प्रतिनिधि सभा बैठकमा पनि नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गीत सुनाएका थिए । कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको सहमति भइसकेको अवस्था रहेको भन्दै उनले रामकृष्ण ढकालको गीत संसद बैठकमा सुनाएका थिए ।

‘गीतकार आनन्द अधिकारी र संगीतकार न्ह्यू बज्राचार्य र गायक रामकृष्ण ढकालको गीत छ,’ शर्माले भने, ’ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको, माया त रहेछ धारिलो छुरा रेटिनै प¥यो नि !’

उनले यो गीत प्रचण्डलाई समर्पित गर्न चाहेको बताएका थिए ।

यस्तै, सोमबारको प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीलाई गीतबाटै जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘म प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत स्मरण गराउन चाहन्छु, तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?