पहिरोले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

लोकपथ
147
Shares

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।

बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुङ्गा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए । उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।” केही ठाउँमा ठूला ढुङ्गा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए । उनले भने, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिरा हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?