ई–स्पोर्ट्स पदक विजेता पुरस्कृत

लोकपथ
0
Shares

काठमाडौं । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई–फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी एक कार्यक्रमबीच पुरस्कृत गरे ।मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५–१५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १०–१० हजार नगद पुरस्कार पाए ।

ई–फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोस्रो भएका सन्देश ओझाले ३० हजार, तेस्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले ई–स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाइ दिदै ई–स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिबृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

सदस्य–सचिव घिसिङले ई–स्पोर्ट्स समाजको विकास चरणले मागेको खेल भएको बताउदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई मध्यनजर गरी त्यही अनुरुप सरकारले लगानी बढाउनु पर्ने आवश्यकता औल्याए ।
उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्ति विशेष नभइ सिंगो देशको प्रतिनिधित्व सम्झनुपर्ने बताउँदै संघलाई आसन्न एसियाली इन्डोर गेम्सको तयारीमा जुट्न निर्देशन दिए ।

राखेपका सदस्य समेत रहेका ई–स्पोर्ट्सका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा राखेपलाई धन्यवाद दिदै वार्षिक क्यालेन्डर नै तयारी गरी संघ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?