कानुन व्यवसायी कुटपिट प्रकरणमा काठमाडौं बारको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

लोकपथ
280
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले असार २३ गते काठमाडौं जिल्ला अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबिच भएको कुटपिटमा दोषीलाई कारबाहीको माग गरेको छ । जिल्ला बारले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेको हो ।

काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका सचिव उज्वल राम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते कानुन व्यवसायी लक्ष्मी (नानी) थापाको स्वास्थ्यलाभको समेत कामना गरिएको छ । अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट नै कानुन व्यवसायीमाथि मुक्का प्रहार हुनु दुखद रहेको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो ।


बारले आफ्नो विज्ञप्तिमा बहस पैरवीका लागि अदालतमा उपस्थित भएको बेला कुटपिट भएको उल्लेख गरेको छ ।
बारले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘ कानुन व्यवसायको सिलसिलामा अदालतमा बहस पैरवीका लागि उपस्थित भएका कानुन व्यवसायीलाई सुरक्षाकर्मीबाट भएको भौतिक आक्रमणले समग्र कानुन व्यवसायीलाई त्रसित बनाउने र स्वतन्त्र रूपमा पेसा व्यवसाय गर्न समेत अवरोध सिर्जना गरेको हुँदा काजिअ बार यस कार्यको घोर भर्त्सना गर्दै कानुन व्यवसायी उपर हुने सबै किसिमका अन्याय विरुद्धमा कानुनी प्रतिरक्षामा उत्रन तयार हुने ब्यहोरा सबैमा सूचित गराउँदछौँ ।’
हेर्नुहोस्, बारको विज्ञप्ति



भएको के थियो ?
असार २३ गते आइतबार काठमाडौं जिल्ला अदालतको तीन नम्बर गेटमा कानुन व्यवसायी र ड्युटीमा खटिएका प्रहरीबिच विवाद बढेपछि कानुन व्यवसायी लक्ष्मी थापा र प्रहरी जवान जीवन छिनालबीच कुटाकुट भएको थियो ।


सेवाग्राही ओहोरदोहोर गर्न नमिल्ने तीन नम्बर गेटबाट अधिवक्ता लक्ष्मी थापाले सेवाग्राहीलाई पनि सँगै लैजान खोजेपछि सुरक्षाकर्मी छिनालले थापालाई रोकेका थिए । तर थापाले जबरजस्ती सेवाग्राहीलाई पनि सँगै लैजान खोजेपछि बढेको विवादमा अधिवक्ता थापाले ड्युटीमा खटिएका प्रहरी जवान छिनालको गालामा थप्पड हानेपछि छिनालले कानुन व्यवसायीको गालामा मुक्का प्रहार गरेका थिए ।


काठमाडौं जिल्ला अदालत श्रोतका अनुसार सिसिटिभी फुटेजमा पनि पहिले विवाद बढेको र विवादका क्रममा सुरुमा कानुन व्यवसायीले नै थप्पड हानेको देखिएको छ । त्यसपछि प्रहरी जवान छिनालले अधिवक्तामाथि आक्रमण गरेका छन् ।
यस विषयमा लोकपथले आइतबार नै समाचार प्रकाशित गरेको थियो ।

यो पनि …

बारको विज्ञप्तिमा को दोषी हो केही उल्लेख गरिएको छैन । आइतबारको घटनामा जिल्ला अदालत बारले सहयोग नगरेको भन्दै थापाले सोमबार बिहानै फेसबुक लाइभ गरेकी थिइन् । त्यसपछि बारले सोमबार विज्ञप्ति निकालेको हो ।


कुटपिटपछि दुवै पक्षले प्रहरी वृत्त सिंहदरवारमा जाहेरी दिएका छन् । यद्यपि दुवै पक्षको जाहेरी दर्ता नगरी छलफलमा बोलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?