पहिरोले ४ घर बगाउँदा बालिकाको मृत्यु, आमा र भाइ घाइते

लोकपथ
217
Shares

उदयपुर । मंगलवार बिहान परेको अविरल वर्षापछि बस्ती माथिबाट आएको पहिरोले घर बगाउँदा एक बालिकाको ज्यान गएकोे छ भने २ जना घाइते भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित तोरीबारीमा ४ घर पहिरोले बगाउँदा ९ वर्षीया रुपकला मगरको ज्यान गएको वडाध्यक्ष गणेशप्रसाद तिम्सिनाले जानकारी दिए । पहिरोले घर बगाउँदा मृतककी आमा ४० वर्षीया हीराकुमारी मगर र उनका ७ वर्षीय भाइ योगेश मगर गम्भीर घाइते भएको जनाएका छन् ।

मृतकको शब पोस्टमार्ट्मका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । घाइतेहरुलाई स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको वडाध्यक्ष गणेशप्रसाद तिम्सिनाले बताए । वडाअध्यक्ष तिम्सिनाका अनुुसार तोरीबारीको ४ वटा घर बगाएको छ भने ७ वटा घर पूर्ण जोखिममा रहेको छ ।

यसैगरी मनसुनजन्य प्रकोपबाट उदयपुरमा थप दुई जनाको ज्यान गइसकेको छ । विपद्जन्य घटनामा गरी उदयपुरमा एक बालकसहित दुई जनाको ज्यान गई सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

बेलका नगरपालिका– ३ सातपत्रेका ५० वर्षीय ईन्द्र बुढाथोकीको गिदेरी खोलाले बगाएर ज्यान गएको छ । रौतामाई गाउँपालिका– ५ आँपटारका नरेन्द्र राईका ५ वर्षीय छोरा राज राईको गत असार २२ गते स्थानीय अमृत खोलाले बगाएर ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?