उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित माध्यमिक विद्यालय सल्लेका लेखापालले हानेको एक थप्पडका कारण सोही विद्यालयका शिक्षकको ज्यान गएको छ । लेखापाल नरेन्द्र राईको थप्पडका कारण शिक्षक शिवनारायण यादवको मृत्यु भएको हो । थप्पडका कारण गम्भीर घाइते भएका शिक्षक यादवको उपचारकै क्रममा १२ दिनपछि मृत्यु भएको हो । लेखापाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामान्य विवादमा लेखापाल राईले असार १२ गते शिक्षक यादवलाई कार्यकक्षमा एक झापड हानेका थिए । उनको गालामा सामान्य डाम मात्र बसेको थियोे । सो घटनापछि सबै शिक्षक र विद्यालयको तर्फबाट शिक्षक यादवलाई उपचार गराएर आउन बिदा दिएर घर पठाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राईले बताए ।
यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार दिउँसो ज्यान गएपछि लेखापाल राईलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो । शिक्षक यादवले उपचार गर्न जान्छु भनेपछि बिदा दिएर उनलाई घर पठाएको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए । ‘गालामा अलिकति डाम थियोे,’ उनले भने ‘त्यसपछि उपचार गर्न पठाएका थियौं ।’
शिक्षक यादवले केही महिनाअघि मुटुको अपरेसन गरेका थिए । उनी प्रेसरको पनि बिरामी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया