विराटनगर ‘ग्याङ फाइट’ घटना केटी जिस्क्याएको निहुँमा, अर्काे समूहका चार जना पक्राउ

लोकपथ
679
Shares

विराटनगर । विराटनगरमा सोमबार राति एक जनाको ज्यानै जाने गरी दुई समूहबीच भएको आक्रमणको घटना केटी जिस्क्याएको निहुँमा भएको अनुसन्धानका क्रममा खुलेको छ ।

विराटनगर–२ स्थित नेपाल टेलिकम अगाडि दुई समूहबीच झगडा भएको थियो । झगडाका क्रममा मोरङ कटरी गाउँपालिका–१ जमरटोकीका करण कामतको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते भएकाहरू कटहरी–१ जमोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

झगडामा घाइते तीनैजनालाई घाइते अवस्थामा प्रहरी सोमबार राति भेटेर उद्धार गरी अस्पताल पु-याएको थियो । कामतको भने अस्पताल पु-याउन नपाई बाटोमै मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरु अर्काे समूहका हुन् । पक्राउ पर्नेमा विराटनगरका सोनु गिरी, भोजपुरका सञ्जय पुरी र ताप्लेजुङका दावा शेर्पालगायत छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानबहादुर बस्नेतले भने, ‘केटी जिस्क्याएको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति हुन पुगेको पाइयो ।’दोहोरो झडप हुँदा पीडक पक्षका दावा शेर्पाले साथमा बोकेको कैँची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको बस्नेतले बताए ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?