काठमाडौं । कांग्रेस–एमाले समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा मन्त्री हुन कांग्रेस सांसदहरुले व्यापक लबिङ गरिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले भने आफू सरकारमा नजाने घोषणा गरेका छन् ।
उनले अर्का महामन्त्री गगन थापाको नेतृत्वमा सरकारमा सहभागी हुनु कांग्रेसका लागि उपयुक्त हुने धारणा पनि राखेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा बोल्नै महामन्त्री शर्माले सो धारणा राखेका हुन् । दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको बताउँदै उनले भने, ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ, प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’
अब बन्ने ओली नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने निर्णय भइसकेको छैन । गगन थापा, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतको नाम भने चर्चामा छ । सिंहले आजै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफू इच्छुक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया