पोखरा । कास्कीमा बिहीबार राति भएको विपद्जन्य घटनामा एकै घरका ६ जनासहित ११ जनाको मृत्यु भएको छ ।
पोखरा–१९ तल्लाकोट टारीस्थित कुलबहादुर परियारको टिनले छाएको घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरमूली ४६ वर्षीय कुलबहादुर, उनका श्रीमती ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियार र चितवनबाट माइत आएका छोरीज्वाइँ २५ वर्षीय अस्मित परियार र २० वर्षीया प्रभा परियार रहेका छन् ।
घटनापछि उद्धारका निम्ति पुगेकी छिमेकी ५६ वर्षीया राधिका परियारको पनि सोही क्रममा लडेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ ।
घटनामा परी सोही घरका छोरा १७ वर्षीय पवन परियार र उद्धार क्रममा मृत्यु भएकी राधिकाका छोरा २९ वर्षीय कुमार परियार घाइते भएका छन् ।
यसैगरी, मादी गाउँपालिका–११ तल्लो ताप्लेकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि मृत्यु भएको छ । उनको ढुंगामाटोले बनेको एकतले कच्ची घरमाथि राति १ बजेतिर पहिरो खसेको थियो ।
यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा गएराति आरती ओझाको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा आरतीका छोरी १८ वर्षीया अनिता, छोरा ९ वर्षीय प्रतीक र छोरी ११ वर्षीया अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया