चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी दुई सय जना परिचालन गरिएको छ । सशस्त्र प्रहरी गोताखोर, मोटरबोट, र्याफ्टबोटसहित परिचालन भएको छ ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ५५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ ।
आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा चालक र सहचालकसहित ३१ यात्रु र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए ।
दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ । नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन । यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया