अन्तरङ्ग सम्बन्धको भिडियो खिचेर ब्ल्याकमेल, एक करोडबाट सुरु भएको बार्गेनिङ १५ लाखमा डिल

रकम लिन जाँदा पक्राउ परिन् २० वर्षीय युवती

काठमाडौं । केही समय शान्तजस्तै रहेको काठमाडौंको हनी ट्र्यापको ‘व्यापार’ पुनः सुरु भएको पाइएको छ । युवती आफैँ वा युवतीहरूको प्रयोग गरेर व्यापारी, कर्मचारी तथा धनी व्यक्तित्वलाई ट्र्याप पारी रकम असुल गर्ने धन्दामा संलग्न दुई जनालाई काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं (अपराध महाशाखा)ले बिहीबार बौद्ध क्षेत्रबाट पक्राउ गरेको छ ।

हनी ट्र्यापको कसुरमा अपराध महाशाखाले बिहीबार बौद्ध क्षेत्रबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ स्थायी ठेगाना भई कामनपा ७ बौद्धमा डेरा गरी बस्ने तेन्जी डोमा छिरिङ वा डोल्मा लामा भन्ने २० वर्षीय सिर्जना तामाङ र सिन्धुपाल्चोककै जुगल गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका मुलपानी बस्ने सौरभ तामाङ भन्ने लिला बहादुर तामाङलाई पक्राउ गरेको छ ।

पीडितको जाहेरीका आधारमा अनुसन्धान थालेको प्रहरीले उनीहरूलाई ५० हजार रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । सौरभ तामाङ भन्ने लिला बहादुर तामाङको योजनामा सिर्जना तामाङले अन्तरङ्ग सम्बन्धको भिडियो बनाएर सोही भिडियोमार्फत ब्ल्याकमेल गरी १५ लाख रुपैयाँ असुल गर्ने तयारी गरिएको थियो । एक करोडबाट सुरु भएको बार्गेनिङ १५ लाख रुपैयाँमा मिलाउने भन्ने सहमति गरी १५ लाख रुपैयाँ लिन जाने क्रममा हनी ट्र्याप संलग्न युवती र युवतीकै बयानका आधारमा योजनाकारलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेका अर्का एक व्यक्तिको भने घटनामा कुनै संलग्नता नपाइएपछि छाडिएको छ ।

यसरी भयो सम्बन्ध, ब्ल्याकमेल र बार्गेनिङ
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ५ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने मुलपानीमा बस्छन् सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ । सामान्य आर्थिक अवस्थाका सौरभका श्रीमती र एक छोरी छन् । सौरभकी श्रीमती वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकी छिन् भने सौरभ काठमाडौंमै ३ वर्षकी छोरीको हेरविचार गरेर बसिरहेका छन् । सौरभ आफू पनि बेलाबेलामा वेल्डिङको काम गर्छन् । त्यसबाहेक सौरभले पनि विदेश जानका लागि प्रयास समेत गरिरहेका थिए ।

सौरभको मिल्ने एक साथी थिए पूर्ण लामा (परिवर्तित नाम) । उनीहरू एक अर्कालाई सम्धी भनी बोलाउँथे भने उनीहरूको ठेगाना पनि नजिकै थियो । पूर्णको परिवारका सदस्य स्थानीय गुम्बामा लामा थिए भने त्यस गुम्बामा अन्यत्रबाट बजेट आएर विकासको काम समेत हुने गर्दथ्यो । पूर्णको परिवार आर्थिकरुपमा सौरभको परिवारभन्दा मजबुत भएकाले सौरभले पूर्णसँग ऋण र सापटी पनि लिएका थिए तर तिरेका थिएनन् ।

केही समय अगाडि स्थानीय गुम्बामा प्रोजेक्ट समेत आएको थियो । गुम्बाको कामको ठेक्का पूर्णले लिएका थिए । सौरभले गुम्बाको ठेक्का पूर्णले पाएपछि आफूलाई पनि काम दिने अपेक्षा गरेका थिए । सौरभले पूर्णसँग काम दिलाइदिन आग्रह पनि गरेका थिए । तर पूर्णले आफ्नै परिवारका सदस्यहरूलाई मात्रै काममा लगाएर गुम्बाको प्रोजेक्टको सबै रकम आफ्नै परिवारमा राखे । त्यसबाहेक गुम्बामा विदेशबाट धेरै सहयोग आउने गरेको भएपनि पूर्णको परिवारले मात्रै खाने गरेको सौरभलाई लाग्थ्यो ।
पूर्णको परिवारको आर्थिक अवस्था बलियो हुँदै जानु, पूर्णका परिवारका सदस्य नै गुम्बामा लामा (अभियुक्त सौरभका अनुसार रिम्पोचे) भएको कारणले उनीहरूसँग ५–६ करोड रकम भएको अनुमान सौरभलाई थियो । यदि केही गरेर ट्र्याप पार्न सकियो भने पूर्णले पैसा दिन्छन् भन्ने सौरभलाई लागेको थियो । त्यसपछि पूर्णलाई कुनै न कुनै ट्र्याप पारेर रकम असुल गर्ने योजनामा लागि सौरभ ।

मसाज सेन्टर भेटिइन् ट्र्याप पार्ने युवती सिर्जना तामाङ
पूर्णलाई ट्र्याप पारी रकम असुल गर्ने योजनामा रहेका सौरभले बौद्धको एक मसाज सेन्टर गएर सिर्जना तामाङसँग भेट गरे । गएको जेठ महिनाको पहिलो सातातिर सुरुमा आफैँ ग्राहक बनेर गएका सौरभले सिर्जनाको मोबाइल नम्बर लिएर आए । त्यसपछि सिर्जनासँग नियमित कुराकानी हुन थाल्यो । कुनै एक व्यक्तिसँग टन्न पैसा रहेको र उ सँग सङ्गत गरेमा पैसा पाउने प्रलोभन सिर्जनालाई समेत देखायो । योजना अनुसार र सौरभले पूर्ण बहादुरको फेसबुक प्रोफाइल सिर्जनालाई पठाएर फेसबुकमा एड गर्न भन्यो ।

… अनि सुरु भयो फिसिङ
सौरभको योजना अनुरूप सौरभ र सिर्जनाबिच छलफल भई सिर्जनाले पूर्ण बहादुरलाई फेसबुकमा एड गरिन् । त्यसपछि पूर्ण बहादुर र सिर्जनाबिच नियमित कुराकानी हुन थाल्यो ।

जेठ महिनाको अन्तिमतिरबाट सुरु भएको कुराकानीमा पूर्ण बहादुर सिर्जनालाई आफ्नो गर्लफ्रेन्ड बन्न प्रस्ताव गरे । सौरभ र सिर्जनाको योजना अनुसार र पूर्ण जालमा परिसकेपछि सिर्जनाले गर्लफ्रेन्ड बन्ने प्रस्ताव स्वीकार गरिन् ।

त्यसपछि पूर्ण बहादुरले सिर्जनासँग सामान्य भेटघाट गरिन् । चिनजानमा पूर्णले सिर्जनालाई मन पराएको कुरा बताए । एक दुई भेटपछि सौरभ, पूर्ण र सिर्जनाबिच पनि चिनजान भयो । एक दुई पटकको भेटघाटपछि पूर्णले सिर्जनासँग रात बिताउने प्रस्ताव राखे । सिर्जनाले भने कहिले फुर्सद नभएको त कहिले के भन्दै टार्दै गइन् । तर सिर्जनासँग रात बिताउन आतुर रहेका ‘ब्वाईफ्रेण्ड’ पूर्ण बहादुर छिट्टै सिर्जनासँग सम्बन्धमा रहन चाहन्थे ।

यहीबिच असारको दोस्रो साता सिर्जनाको आमा गाउँमा बिरामी परेकाले सिर्जना गाउँ जानुपर्ने भयो । सिर्जनाले सोही कुरा पूर्ण बहादुरलाई बताइन् । तर पूर्ण बहादुरले पहिले एक रात बसौँ अनि जाऊ भनेर जिद्दी गर्न थाले । यी सबै घटनाक्रम सिर्जनाले सौरभलाई ‘रिपोर्टिङ’ गरिरहेकी थिइन् ।

त्यसपछि सिर्जना र सौरभ बसेर योजना बनाए । पूर्णलाई सिर्जनाकै कोठामा बोलाउने र त्यहाँको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेल गरी रकम असुल गर्ने । योजना अनुसार सौरभले सिर्जनालाई एउटा मोबाइल दिए । सिर्जनाले आफ्नो मोबाइल आफैँसँग राखिन् भने अर्को मोबाइल बेडको दृश्य कैद हुने गरी भिडियो अन गरेर लुकाएर राखिन् ।

दराजमाथि लुकाएर खिचियो अन्तरङ्गको भिडियो
योजना अनुरूप पूर्ण पनि सिर्जनाको कोठामा आइपुगे । त्यसपछि भएको अन्तरङ्ग कार्यको भिडियो मोबाइलमा कैद भयो । दिउँसै सिर्जनाको कोठामा पुगेका पूर्ण केही समय त्यहाँ बसेर निस्किए । पूर्ण निस्किएलगत्तै सिर्जनाले उक्त भिडियो सौरभलाई पठाइन् । सिर्जना पनि त्यसलगत्तै सिन्धुपाल्चोकस्थित घरमा गइन् ।

घटना भएको करिब एक सातापछि नै पूर्णले प्रयोग गर्ने मोबाइल नम्बरको ह्वाट्सएपमा सौरभको म्यासेज आयो । म्यासेजमा सिर्जना र पूर्णबिचको अन्तरङ्ग सम्बन्धको भिडियो थियो । भिडियो देखेलगत्तै पूर्ण तनावमा भए ।

यो भिडियो कहाँबाट कसरी आयो भन्दा मलाई सिर्जनाले पठाएको र बलात्कारको मुद्दा हाल्छु भनेकी छे के भएको हो भनेर सोधे । भिडियो नै प्रमाण भएपछि पूर्णले अन्तरङ्ग सम्बन्ध भएको भनेर स्वीकार गरे । त्यहीबिचमा सिर्जनाको महिनावारीसमेत रोकिएको भन्दै सन्देश पूर्णसम्म पुग्यो । सिर्जनाले समेत आफूमाथि त्यस दिन जबरजस्ती भएको र महिनावारी रोकिएको बताइन् । आफूसँग विवाह गर्नुपर्ने भन्दै विवाह नगरे बलात्कारको केस गर्ने चेतावनी दिइन् ।

त्यसपछि पूर्ण तनावमा रहे । पूर्ण पहिले नै विवाहित थिए । श्रीमती र दुई सन्तान घरमा भएको अवस्थामा सिर्जनासँग विवाह गर्ने अवस्थामा थिएनन् । विवाह गर्न नसक्ने भन्दै गर्भपतन गराउन पूर्णले सिर्जनासँग आग्रह गरे । तर सिर्जनाले गर्भपतन नगराउने भन्दै विवाह नगरे बलात्कारको केस गर्ने चेतावनी दिइरहिन् । त्यसबाहेक आफूले प्रेग्नेन्सी टेष्ट गराउँदा पोजेटिभ आएको भन्दै आफू गर्भवती भएको सन्देश समेत पठाइन् ।

त्यसपछि पूर्णले ‘सम्धी’ सौरभसँग सहयोग लिनुपर्ने भयो । सौरभलाई नै भनेर केही रकम दिएर मिलाउने भन्दै पठाए । सौरभले हुन्छ म कुराकानी गर्छु भनेर सिर्जनासँग भेटेको नाटक गरे ।

पूर्ण पैसा दिएर केस मिलाउन तयार भएपछि सौरभ र सिर्जनाबिच योजना बन्यो एक करोड रुपैयाँ माग्ने । योजना अनुरूप नै सौरभले केटीले एक करोड मागेकी छे भन्दै पूर्णसम्म खबर पुराए । तर पूर्णले आफूसँग त्यति धेरै रकम नभएको भन्दै दुई लाख रुपैयाँसम्म दिने बताए । सौरभ र सिर्जना एक करोडको बार्गेनिङबाट ३० लाखमा झरे । तर पूर्णले आफू बरु जेल जान तयार भएको तर त्यति धेरै रकम दिन नसक्ने भनेपछि अन्तिममा १५ लाख रुपैयाँमा कुरा मिल्यो । सुरुमा दुई लाख दिने र असार २९ गते शनिवार साँझसम्म बाँकी १३ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ दिने र त्यो समयसम्म रकम नदिए बलात्कारको केस हाल्ने धम्की आयो ।

तर पूर्णसँग त्यति धेरै रकम पनि नभएको र यी सबै घटनाक्रम शङ्कास्पद र योजनाबद्ध रहेको शङ्का लागि पूर्णले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । उजुरीलगत्तै अनुसन्धान थालेको प्रहरीले पूर्णसँग नै मिलेर बिहीबार नै केही रकम दिने भनी सिर्जनालाई पैसा पठाइदिने सन्देश पठाइयो ।

तर सिर्जनाले आफ्नो बैङ्क खाता पठाइनन् । उनले आफ्नो बैङ्क खाता नभएको भन्दै चिनजानकै एक व्यक्तिको बैङ्क खाताको क्यु आर कोड पठाइन् । पूर्णले सोही क्यु आर कोडमा ५० हजार रुपैयाँ पठाइदिए ।

रकम निकालेलगत्तै पक्राउ परिन् सिर्जना
सिर्जनाका लागि भनेर पठाइएको ५० हजार रुपैयाँ बैङ्कबाट झिकिएको पुष्टि भएपछि प्रहरी पुगेर सिर्जनालाई पक्राउ गर्यो । सिर्जनासँगै जुन व्यक्तिको बैङ्क खातामा रकम ट्रान्सफर गरिएको थियो, उनलाई समेत पक्राउ गर्यो ।

दुवै जनालाई पक्राउ गरी सोधपुछ गरेलगत्तै घटनाको मुख्य योजनाकार नै सौरभ भन्ने लिला बहादुर तामाङ रहेको खुल्यो । सौरभकै योजनामा सिर्जनाले सबै काम गरेको खुल्यो । बैङ्क खाता प्रयोग हुने व्यक्तिको भने संलग्नता नरहेको पाइएपछि उनलाई तारेखमा राखेर छाडियो ।

प्रहरीले सौरभसँग बयान लिने क्रममा सौरभले आफूलाई पूर्णसँग रिस उठेको, गुम्बामा विकास निर्माणको काम हुँदा आफूलाई काम नदिएको, विदेशबाट गुम्बाका लागि आएको रकम अपचलन भएको र लामाले आफ्नो परिवारका लागि मात्रै काम गरेकाले रिस उठेको बयान दिए । रिस उठेको तथा उनीहरूसँग धेरै पैसा रहेको अनुमान गरी हनी ट्र्यापमा पारेर रकम असुल गर्ने योजना बनाएर योजना अनुसार र सिर्जनासँग भेट गरी पूर्ण सँग फेसबुकमा कनेक्ट गराएको स्वीकार गरे ।

प्रहरीसँगको प्रारम्भिक बयानमा सौरभले भनेका छन्, ‘म मेरो गाउँमा रहेको गुम्बा जाने बाटो … लामा, … लामाका अन्य साथीहरूले बाटो पिच नगरीदिने भएकोले म उक्त बाटो पिच नगरेको निहुँमा मेरो गाउँको बहिनी पर्नेलाई लगाई बहिनीसँग ती केटाहरू मध्येका … लामालाई सम्पर्क राख्न लगाई उनीहरूको अश्लील भिडियो बनाई पैसाको बार्गेनिङ गर्ने गरेको हुँ । … लामाले गुम्बा बनाउनको लागि अरू देशबाट आएको पैसा हिनामिना गरी गुम्बामा करौंडौ रकम राखेको छ भनी सुनेकोले गुम्बा जाने बाटो बनाई दिनु भनी पटक–पटक आग्रह गर्दा मलाई गालीगलौज गरेकोले मैले यस्तो कार्य गरेको हो ।’

युवतीको प्रयोग गरी हनी ट्र्यापमा पारी रकम असुल गर्न खोजेको आरोपमा अपराध महाशाखाले सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङमाथि थप अनुसन्धान र अभियोजनका लागि शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । अब जिल्ला प्रहरी परिसरले आपराधिक लाभसम्बन्धी कसुरमा उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?