‘ओशोलाई राख्ने नेपालको भाग्यमै थिएन्’

लोकपथ
1.5k
Shares

काठमाडौं । मैंले स्वामी आनन्द अरुणलाई पहिलो पटक सन २००० को डिसेम्बेरमा कठ्यांग्रिदो जाडोमा बिहानीपख ओशो तपोबनमा भेटेको थिए । त्यसदिन म पहिलो पटक तपोवन पुगेको थिए ।

बिहान सबेरै बाक्लो कुहिरोले तपोबननै ढाकिरहेको थियो । वायुमण्डलबाट शीतका थोपाहरु तपतप चुहिरहेका थिए । उनी ओशो तपोबनको रजनीश ध्यान मन्दिरबाट सक्रिय ध्यान सकेर भर्खर निस्कदै थिए अनि एक सहयोगी सन्यासीलाई केही निर्देशन दिंदै थिए । त्यो दिन मलाई अहिलेपनि झल्झल्ती याद आउँछ ।

उनलाई प्रत्यक्ष भेटनुअघि मैंले पोखराको ओशो इनरकनेक्सन ध्यान केन्द्र, पृथ्वीचोकमा ओशोले आविस्कार गर्नुभएका ध्यान विधिहरु गर्न जाँदा उनको बारेमा धेरै सुनेको थिए र उनको रेकर्ड गरिएको प्रवचन सुनेको थिए । प्रकृतिको मनोरम छटाले भरिएको सुन्दर नगरी पोखरामा बिहानीपख स्वामी आनन्द अरुणको रेकर्ड गरिएको आवाज पहिलो पटक सुनेको स्मरण अझैपनि मेरो मस्तिष्कमा तरोताजा छ ।

उनले ओशोको विद्यार्थी जीवनकालको प्रतिभाशाली व्यक्तित्वको चर्चा गरेको मेरो स्मृतिमा अझैपनि स्मरण छ । स्वामी आनन्द अरुण नेपालको अध्यात्मिक आकाशका एक चम्किला तारा हुन् । स्वामी अरुणको बारेमा केही लेख्न त्यति सजिलो त छैन । मेरा शब्दहरु छोटा हुन्छन अनि उनको व्यक्तित्वलाई शब्दहरुमा अटाउन मुस्किल हुन्छ । तरपनि म यहाँ अहिले त्यो बिशाल अध्यात्मिक व्यक्तित्वको बारेमा केही लेख्ने प्रयास गर्न खोज्दैछु ।

यि ओशोका एक अमूल्य नुतनसँग यस पङतिकारले बर्षौसम्म ति महान गुरु ओशो र ध्यान साधनाका सम्बन्धमा सतसँग गर्दा अनि उनका ध्यान शिविरहरुमा सहभागी हुँदा उनका मुखारबिन्दुबाट निस्केका कुराहरुको स्मरण गर्दै मैंले ति विभुतिको सन्दर्भमा यहाँ चित्रण गरिरहेको छु । सन् १९४४, जुन १६ मा जनकपुरमा जन्मेका स्वामी आनन्द अरुणले ओशोलाई २९ मार्च १९६९ मा पहिलो पटक पटनाको सिन्हा पुस्तकालयमा दर्शन गरेपछि जब अक्टोबर १९६९ मा गुजरातको द्वारिकामा भएको ओशोको ‘मै मृत्यु सिखाता हुँ’ भन्ने शिविरमा पहिलो पटक सहभागी बने । त्यस समय उनले ओशोलाई उनको निवासमा रोचक तरिकाले भेटघाट गरि आफ्ना जिज्ञासाहरु राखे । त्यहि भेटमा स्वामी अरुणले आग्रह गरेपछि १९, २०, र २१ मार्च, १९७० मा ओशो नेपाल आउन मन्जुर हुनु भएको थियो । तर त्यस समयमा केही पैसाको अभावको कारणले त्यो सफल हुन नसकेकोमा स्वामी अरुणले अझैपनि ठुलो पश्चाताप व्यक्त गर्ने गर्दछन ।

ओशोलाई नेपाल ल्याउने त्यस बेलाको प्रयास सफल नभएपनि पछि अमेरिकाबाट फर्केपछि सन् १९८६ मा ओशो नेपाल आउनुभयो । स्वामी अरुणले पछिल्लो पटक ओशोलाई नेपाल राख्ने भरमग्दुर प्रयास गरेका थिए । नेपालको सुन्दर नगरी पोखरामा फेवातालको किनारमा रहेको फिस्टेल होटल किन्ने र त्यसलाई ओशोको आश्रम बनाउने र ओशोलाई पोखरामा राख्ने योजना बनेको थियो । तर त्यो सफल हुन सकेन् । सायद अस्तित्वको त्यही योजना थियो । भनौं ओशोलाई राख्ने नेपालको भाग्य थिएन । ओशो ४५ दिनसम्म नेपालको सोल्टी होटेलमा बसी त्यसपछी बिश्व भ्रमणमा निस्किए । स्वामी आनन्द अरुणको साधना कालमा ओशोले भनेका कुराहरु अहिले अक्षरस पूरा हुँदै गएको कुरा स्वामी अरुणले साधकहरूको समिपमा पटक पटक व्यक्त गर्ने गर्दछन् ।

कुनै समय ओशोले अरुणलाई भनेका थिए ‘नेपालको विशाल अध्यात्मिक संभावना छ । भविष्यमा सारा नेपाल मेरो रंगमा रंगिने छ । ओशोले स्वामीजीलाई भनेका थिए । जसरी तिब्बत भगवान गौतम बुद्धको दर्शनको अध्यात्मिक राजधानी बन्यो त्यसैगरी नेपाल भविष्यमा मेरो देशनाको अध्यात्मिक राजधानी बन्दछ । त्यो कुरा अहिले बिस्तारै साकार हुँदै जान थालेको छ । गुजरातको द्वारिकामा ओशोसँगको पहिलो भेटमा विद्यार्थी अरुणलाई ओशोले सोधेका थिए–‘तिमीलाई के गर्न तिब्र इच्छा छ ? अरुणले भनेछन् –‘मलाई संसारभर घुम्ने इच्छा छ ।’ ओशोले तत्काल भनेछन् – ‘तिमी ध्यान र साधनाले तयार बन, म तिमीलाई मेरो संदेश लिएर संसारभर घुमाउँदछु ।’ ओशोको संदेश लिएर ध्यान शिविर गराउन जाँदा स्वामी आनन्द अरुणले विश्वका धेरै देशहरु घुमे । ओशोले त्यसबेला दिएका ति बचन अहिले साकार भएको कुरा स्वामी अरुणले स्मरण गर्दै भन्दछन–‘मैले ओशोको ध्यान शिविर गराउन जाँदा रसिया, युरोप, अमेरिका, बेलायत, जापानलगायतका देशहरु घुमेको छु ।’

त्यसैगरी एकपटक स्वामी अरुणले आफू ध्यानमा लाग्दा अनि आफ्नो पारिवारिक बेमेलको कारण आफ्ना बच्चाहरुले पढन पाउदैनन कि ? उनीहरुले भविष्यमा मागेर खानुपर्ने दिन आउने हो कि भनेर ओशोलाई चिन्ता व्यक्त गरेछन् । तत्काल ओशोले भनेछन्–‘ल आज तिमी र म सम्झौता गरौं । म तिम्रो बच्चाबच्ची पढाउने जिम्मा लिन्छु । तिमी मेरो काम गर्ने जिम्मा लेउ ।’ स्वामी अरुणका छोराछोरीहरुले पछी युनिभर्सिटी टप गरे र अहिले उनीहरुको बहुत राम्रो ब्यवस्था छ । ओशोको समिपमा स्वामी अरुणले यस्ता अनेकौ आश्चर्यजनक कुराहरु देखेका र भोगेका छन् ।

स्वामी अरुणले आफ्नो आमाबुवालगायत नेपालबाट पहिलो पटक १० जना व्यक्तिहरुलाई लिएर पुना गएछन् । त्यहाँ जव ओशोसँग स्वामीजीको आमाको कुराकानी भयो । स्वामीजीको आमाले ओशो समक्ष भनिछन, ‘मेरो शरीरमा रोगहरु छन, अब धेरै वाँच्दिन होला । ओशोले सोधेछन्– तिमीलाई कति बाँच्ने इच्छा छ ? आमाले केही बोलिनन् । उनको आमा मौंन भइन । त्यसपछि ओशोले तत्काल भनेछन् – ल तिमीलाई जति समयसम्म बाँच्न मन लाग्दछ, त्यति समयसम्म तिमी बाच्नेछौ ।’ धेरैपछि स्वामीजीको आमा बिरामी भई अस्पतालमा उपचार गरि डिस्चार्ज हुने तयारी भइरहेको बेला आमा सुमित्रादेवी सिन्हाले स्वामीजीको समिपमा कुराकानीको क्रममा भनिछन्–‘ल शरीर पनि बुढो भयो । रोगी भयो । अब मलाई बाँच्ने इच्छा पनि छैन । तिम्रो गुरु ओशोसँग मेरो शरीरबाट छुटकाराको लागि प्रार्थना गरिदेउ ।’ आमाले अनुरोध गरेपनि स्वामी अरुणलाई आफ्नै आमाको मृत्युको लागि गुरुसँग प्रार्थना गर्नु उपयुक्त लागेन । त्यहि बिचमा कुरा हुँदैगर्दा तुरुन्तै, तत्काल स्वामीजीकै अगाडि उनको आमाले शरीर छाडिछन् ।

स्वामी आनन्द अरुण ओशो जगतमा पंचशील प्रस्तुत गर्ने ओशोका आचार्य हुन् । ओशो संस्कृतिमा पहिलोपटक शिल र नियमको कुरा स्वामीजीले प्रस्तुत गरे । ओशोले ध्यानको अनिवार्यता बाहेक आफूले साधकहरुलाई कुनै नियम नदिएको बताइरहनु भएको पृष्ठभूमिमा ओशोको जगतमा स्वामी अरुणबाट पंचशीलको प्रस्तुति भएसंगै अध्यात्मिक जगतले उहाँको खुब प्रशंसा गर्यो र नेपालको ओशो जगतमा पंचशीलको खुब सरहाना भयो । स्वामी अरुणले भन्दछन, ओशोका प्रारम्भिक कालका उत्कृष्ट २० पुस्तकहरुको निचोडलाई ओशोको आदेश अनुसार मैंले पंचशीलको रुपमा प्रस्तुत गरेको हो ।

स्वामी अरुण ओशोको आश्रमहरुमा आरती गर्न सुरुवात गर्ने आचार्य हुन् । उनले ओशो संस्कृतिमा सन २०१२ मा तपोबनबाट आरतीको प्रवेश गराए । सनातन हिन्दु संस्कृतिमा आफ्ना आराध्य गुरुको आरती अत्यन्त पबित्र प्रार्थना मानिन्छ । नेपाल र भारतमा आरती बहुत लोकप्रिय धार्मिक विधि हो । सनातन संस्कृतिको बाहुल्य भएको नेपालमा ओशो संस्कृतिमा आरतीको प्रवेशले महान गुरु ओशोको देशनाको प्रचार, बिस्तार र संरक्षणमा महत्वपूर्ण भूमिका रहने अनुमान गर्न सकिन्छ । स्वामी आनन्द अरुणले ओशोको आदेश अनुसार आरती सुरु गरेको हो भन्दै आएका छन् । उनी दोस्रो पटक ओशोलाई भेट्न रजनीशपुरम, अमेरिका जाँदा फर्कने बेलामा ओशोले उनलाई आरती, बत्ती र रजनीशपुरमको लाइटर पनि उपहार दिएका थिए । त्यसबेला त्यसको अर्थ बुज्न नसकेका स्वामी अरुणले धेरैपछी मात्र गुरुको त्यो संकेत बुझेका थिए ।

सन् १९८६ मा ओशो नेपाल आउँदा स्वामी अरुणले ओशोलाई भनेछन्– भगवान नेपालमा सनातन संस्कृतिमा आरती गर्ने प्रचलन छ । त्यसपछि ओशोले स्वामी अरुणलाई आरती गर्ने आदेश दिएको कुरा उनी सत्संगमा बताउँछन् । त्यसैगरी बुद्धले पूर्वजन्ममा हरेक बुद्ध पुरुषको मुर्तिमा पुजा र आरती गरेको पुण्यले बैशालीमा खडेरीले आक्रान्त समयमा पानी परि तत्कालिन समयमा जनमानसलाई खडेरीबाट मुक्त गराउनु भएको थियो । त्यसैले बुद्धपुरुषहरुको मुर्ति स्थापना गरि आरती सुरुवात गरेको कुरा स्वामी अरुणले साधकहरु समक्ष वताउँछन् । स्वामी आनन्द अरुण ओशो संस्कृतिमा बुद्ध पुरुषहरुको मुर्ति स्थापना र आरती सुरुवात गर्ने अभियानको सुरुवातकर्ता हुन् । उनले नेपालबाट ओशो संस्कृतिमा आरती सुरु गरेपछी अध्यात्मिक जगतमा ओशोप्रति सकारात्मक दृष्टिकोणको बृद्धि भएको छ ।

स्वामी आनन्द अरुणको काठमान्डौको ताहाचलमा रहेको घरबाट नेपालको ओशो अभियान सुरु भएको हो । स्वामी अरुणले डेडबर्ष अघि उक्त आशिष ध्यान केन्द्र रहेको घरको सन्दर्भमा नयाँ रहस्य खोलेका छन् । ओशोको कुनै एक पूर्वजन्म नेपालमा भएको र अहिले आशिष ध्यान केन्द्र रहेको स्थल उक्त समयमा उनको साधनास्थली रहेको नयाँ रहस्य ओशो जगतमा खोलेका छन् । आशिष ध्यानकेन्द्र परिसरभित्र ठयाक्कै ओशो मन्दिर रहेको स्थानमा पूर्वजन्ममा ओशो बस्ने निवास रहेको रहस्य उनले खोलेका छन् । ओशोको यस अघिको तेस्रो पूर्वजन्म नेपालमा भएको रहस्य स्वामी अरुणले खोलेपछि ओशोको नेपालसँगको सम्बन्धको रहस्यले नयाँ उचाई लिएको छ ।

स्वामी अरुण सबैभन्दा सक्रिय शिष्य हुन् । अत्यन्त आदरणीय व्यक्तित्व हुन् । ओशोको देशनाको प्रचारको लागि दिवाना हुन् । उनले ओशोको जीवनकालमा उनको समिपमा धेरै जिज्ञासाहरु राखेका थिए । ति मध्ये केही जिज्ञासा र ओशोका अमृत बचनहरु पुस्तक र अडियोको रुपमा उपलब्ध छन् । स्वामी आनन्द अरुणले ओशोलाई भेट्नुअघि अनेकौ आश्रमहरु गएका थिए र धेरै गुरुहरुलाई भेटेर दिक्षा पनि लिएका थिए । पछिपनि उनले धेरै गुरुहरु तथा सन्तहरुलाई भेटेर सत्संग गरेका छन् । उनले बिभिन्न सन्तहरुसँग भएको भेटघाटको रहस्यमय विवरण सन्त दर्शन, अंतर्यात्रा, सन्तगाथा, मिस्टिक एण्ड मिराकल जस्ता उनका १२ भन्दा बढी पुस्तकहरुमा गरेका छन् । उनी पुस्तकहरु पढन र अरुलाई पुस्तकहरु उपहार दिन खुशी हुन्छन ।

स्वामी अरुणले अहिले नेपालमा लोकप्रिय अध्यात्मिक गुरुको दर्जा पाएका छन् । ओशो जगतमा उनी नेपालको मात्र होइन विश्वकै लोकप्रिय गुरुको रुपमा चिनिन्छन । तरपनि उनी यति सरल, बिनम्र र महान छन् कि उनले आफु गुरु होइन ओशोको शिष्य मात्र हो भन्दछन । विश्वमा अनि विशेषगरी भारतमा ओशो संन्यासीहरुले माला नलगाउने संस्कृति विकसित भएको सन्दर्भमा उनी ओशो संन्यासीहरुले अनिवार्य माला लगाउनु पर्दछ र नियमित ध्यान गर्नु पर्दछ भन्ने शिक्षण दिन्छन । ओशोले जुन ढंगले ध्यान र साधनाको संदेश बाँढेका थिए त्यो संदेशलाई कुनै तोडमोड नगरिकन पवित्र ढंगले ति महान गुरुको संदेशलाई त्यही शैलीमा मनुश्यतालाई बाँडिरहेका छन् ।

नेपालको अध्यात्मिक जागरणमा स्वामी अरुणको योगदान अतुलनीय रहेको छ । नेपालमा बिकसित भएका अध्यात्मिक संस्थाहरुका संस्थापकहरु आफ्नो साधनाको सुरुवातको समयको कुनै न कुनै कालखण्डमा ओशो तपोबन र ओशो आशिष ध्यान केन्द्रमा ध्यान गरेका अथवा स्वामी आनन्द अरुणबाट दिक्षा लिएको पाइन्छ । मनोक्रान्ति अभियानका संस्थापक डा.योगी विकाशनन्दले पनि लामो समय आशिष ध्यान केन्द्र ताहचलमा ध्यान गरेको उल्लेख गरेका छन् ।

नेपालमा अहिले लोकप्रिय हुँदै गइरहेको जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा पनि दुई दशक भन्दा बढी ओशो सन्यासीको रुपमा ओशो तपोबन र अन्य ओशो आश्रमहरुमा साधना गरेका व्यक्ति हुन् । त्यसैगरी पथिक फाउन्डेसन संचालन गरि मातातिर्थ काठमान्डौ र देवघाटलगायतका ठाउँमा आश्रम स्थापना गरि ओशोको देशनालाई नयाँ ढंगबाट बाँडिरहेका डा.टीएन पथिक पनि ओशो तपोबनमा स्वामी आनन्द अरुणबाट दिक्षित भई लामो समयसम्म तपोबनमा साधना गरेका व्यक्ति हुन् । लामो समयसम्म ओशो धाराको आचार्य बनि अहिले ओशो जीवन जागृति आश्रम सौराह र काठमान्डौमा ओशो बाटिका संचालन गरि ध्यान साधना गराइरहेका स्वामी मैत्रेय पनि स्वामी आनन्द अरुणबाट दिक्षित भइ लामो समयसम्म ओशो तपोबनमा साधना गरेका व्यक्ति हुन् । यसरी हेर्दा ओशो तपोबन र स्वामी आनन्द अरुण नेपालको अध्यात्म शिक्षणको पाठशाला हुन् ।

स्वामी आनन्द अरुणले ओशो तपोबनमा संसारका सबै सामान्यदेखि प्रतिष्ठित व्यक्तिहरुलाई बहुत सौहाद्रपुर्ण स्वागत गर्दछन ।
नेपालका राष्ट्रपति, अधिकांश पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, पार्टीका नेताहरु, प्रतिष्ठित व्यक्तिहरुलाई स्वामी अरुणले ओशो तपोबनमा हार्दिक स्वागत गर्दछन् । पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई र नेपालका बौद्दिक नेता स्व.प्रदिप गिरि त पटक पटक ओशो तपोबन जान्थे । स्वामी आनन्द अरुण अहिले नेपालमा उच्च पदस्थ व्यक्तिहरुको भरोसायोग्य र आशा जगाउने अध्यात्मिक गुरु हुन् । ओशो तपोबनमा जनमत पार्टीका अध्यक्ष तथा मधेशी नेता डा.सीके राउत, प्रतिनिधि सभाका सांसद सुनिल शर्माले स्वामी आनन्द अरुणबाट ओशोको नव सन्यासमा दिक्षा लिई ओशो सन्यासी बनेका छन् । उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल सरकारका मुख्य सचिब डा.बैकुण्ठ अर्याललगायतका उच्च पदस्थ व्यक्तिहरु बेला बेलामा स्वामी आनन्द अरुणसँग सत्संगको लागि ओशो तपोबन जाने गर्दछन् ।

स्वामी आनन्द अरुण ओशोको मृत्युको सन्दर्भमा प्रचलित भनाइहरु भन्दा केही फरक धारणा राख्ने व्यक्ति हुन् । ओशोको मृत्युको सम्बन्धमा उनले केही रहस्यमय कुराहरु उजागर गरेका छन् । स्वामी आनन्द अरुणको उक्त भनाइले ओशोको मृत्युलाई अझै रहस्यमय बनाइदिएको छ । उनले त्यो लगायत ओशोसँग सम्बन्धित धेरै बिषयहरु समेटिएको पुस्तक ‘अनटोल्ड स्टोरी वीथ ओशो’लेख्दै छन् । बहुप्रतिक्षित उनको उक्त पुस्तक निकट भविष्यमा आउँदैछ ।

नेपालको अध्यात्मिक जगत र बिश्व ओशो जगतमा स्वामी आनन्द अरुण एक महान नक्षेत्र हुन् । उनले ओशोको दुनियाँमा एउटा धारा विकसित गरेका छन् । स्वामी आनन्द अरुणको प्रभाव र योगदानको महत्व भविष्यमा अझ प्रगाढ हुँदै जानेछ । जय ओशो । जय भगवान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?