काठमाडौं । यादव खरेललाई चिनाउने अनेकौँ विधा भएपनि पछिल्लो समय उनको चिनारी चलचित्र निर्देशकका रुपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर भनेर समेत जीवनको विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाएका विधा हुन् ।
राणाकालको ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’ बनाएका छन् खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो वायोपिक फिल्म हो । यो ०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । वायोपिक भनेको कुनै मानिसको जिवनीमाथि बनेको कथानक चलचित्र भन्ने बुझिन्छ ।
‘आदिकवि भानुभक्त’ आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ । जसमा नायक दिलिप रायमाझीले भानुभक्त आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्ममा भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको निर्देशक खरेलले सुनाए । भानुभक्त निर्माणमा लागि करिब दुई बर्षसम्म अध्ययन गरेका खरेल पुरानो फिल्म भएकाले यसको अस्तित्व जोगाउन समस्या भइरहेको बताउँछन् ।
‘आदिकवि भानुभक्तले नेपाललाई भाषा र साहित्यमार्फत नेपाल एकिकरण गरेको र घाँसीबाट प्रेरणा लिएर राष्ट्रप्रेमको भावना जागृत गरि समाजलाई मद्दत हुने हिसाबले साहित्यको सिर्जना गरी नेपाली भाषामा ‘रामायण’ र अन्य कृतिहरू पनि रचना गरे भन्ने कुरा यसमा चलचित्रमा समावेश गरेका थियौं । यसका लागि म आफैंले भानुभक्तलाई चिनेका धेरै मानिसहरुको अन्तर्वार्ता लिएको छु उनले भने ।
खरेलले आदिकवि भानुभक्तको अर्काइभ अहिले पनि सुरक्षित राखेको बताउँछन् । ‘अहिले पनि विभिन्न अर्काइभहरु सुरक्षित राखेका छौं । युसिएलएलले राखेको छ । भल्ब बनाएर जमिनमुनि भुकम्प गए पनि केही नहोस् भनेर त्यहाँ सूरक्षित राखिएको छ,’उनले भने ।
वाल्मिकीले लेखेको रामायणलाई नेपाली भाषामा उतारेर भानुभक्तले नेपाली भाषालाई चिनाउन ठुलो सहयोग गरेको उल्लेख गर्दै यही कारण पनि फिल्म नेपाली माझ सधैं अमर रहने खरेल बताउँछन् ।तर आदि कविको वायोपिक फिल्म‘आदिकवि भानुभक्त’ निर्माण गर्न त्यति सहज नभएको खरेलको अनुभव छ । उनी भन्छन्,‘भाषा, कला, साहित्यमा भानुभक्तले गरेको योगदान अतुलनीय छ । यो सबै कुराको अध्ययन गर्नु ठुलो चुनौती चलचित्र निर्माणका क्रममा भयो । केही नछुटोस् भनेर धेरै मेहेनतका साथ काममा लाग्नु परेको थियो । आदिकवि भानुभक्त बनाउँदाको समय ध्वनी र दृश्य एकैचोटि लिन सजिलो थिएन । त्यो बेला भानुभक्त फिल्म बनाउँदा छुटै दृश्य र छुट्टै ध्वनी चाहिन्थ्यो । तथ्य लिएर यथार्थ चित्रण गर्न निकै मिहिनेत गर्नु पर्यो । भानुको जन्मथलो उनकै घरको महिनौं बसेर अध्ययन, छायांकनलगायतका काम गर्नुपरेको थियो । नेपालमा मात्र होइन, दार्जिलिङ, सिक्किम र बर्मामा समेत छायांकन गर्ने योजना थियो । त्यस्तै बर्मामा पनि नेपाली भाषीका धेरै कथा–व्यथा थिए । त्यहाँ पनि भानुभक्त लोकप्रिय छन् । चलचित्र निर्माण गर्दाको बखतको अनुभवहरु रमाइला र चलचित्र उतिक्कै असहज थियो ।’
फिल्म बनाउने बेला न दार्जिलिङबाट यथोचित सहयोग मिल्यो न बर्माबाट । फिल्म बनाउने क्रममा अध्ययनका लागि यादव खरेल बर्मा पुगेका थिए । तर, त्यहाँको सरकारले छायांकन अनुमति नदिएकाले चलचित्रमा बर्मालाई समेट्ने रहर पनि अपूरै रह्यो । सानो सिमाभित्र मात्र बसेर भानुभक्त निर्माण गरिएको उनको अनुभव छ ।
‘आदिकवि भानुभक्त’ इतिहासको दस्तावेज रहेकाले पैसा आर्जन गर्ने उद्देश्य नभएको खरेलले सुनाए । भानुको साहित्यिक इतिहास लिपिबद्ध गर्ने प्रयासमा सफलता मिलेको उनको अनुभव छ । फिल्म भानु जन्मस्थल विकास समितिको सम्पत्ति भएपनि त्यसलाई सुरक्षा नगरिएकोप्रति खरेल चिन्तित छन् ।
चलचित्रमा कमलमणि दिक्षित, बिक्की साह, दिलिप रायमाझी, सुवर्ण श्रेष्ठ र अनिता सिलवाल लगायतका कलाकारले अभिनय गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष समेत भइसकेका खरेलको बेलामा बनेको राष्ट्रिय चलचित्र नीति अहिलेसम्म पनि कार्यान्वयनमै छ ।
मुल नेतृत्वमा पुग्ने राजनीतिक दलका नेताहरुमा चलचत्रि सम्बन्धि चेतनाको अभावकारण चलचित्र क्षेत्र अगाडि बढ्न नसकेको खरेको भनाइ छ । ‘म चलचित्र विकास बोर्डको अध्यक्ष भएकै बेला राष्ट्रिय चलचित्र ऐन, २०२६ लागु गरिएको हो । तर त्यो नीति खासै प्रभावकारी रुपमा कार्यान्वयनमा आएन । दुर्भाग्य के भयो भने मुलुक चलाउन भनेर मन्त्री भएर आउनेहरुमा चलचित्र सम्बन्धि चेतना भइदिएन । चलचित्र विकास बोर्ड आफ्ना मान्छेका लागि भर्ति केन्द्र जस्तो बनाइदिए । यसकारण बोर्डले सोचेको जस्तो काम गर्न सकेन । आज ५५ वर्षवितिसक्दा समेत नीति संशोधन गरेर ल्याउन सकिएको छैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया