सिमलताल दुर्घटनामा चितवन प्रशासनको नयाँ अपडेट : ५४ होइन दुई बसमा थिए ६५ यात्रु

लोकपथ
3.3k
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा ५४ यात्रु रहेको प्रहरीले बताउँदै आएको भएपनि सो संख्या ६५ रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको छ ।

यसअघि काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बसका २७ र वीरगञ्जबाट काठमाडौं जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसका २४ जना बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो । तर, काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ । ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु सकुशल छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेका थिए । दुवै बसमा ६५ जनाले यात्रा गरे पनि गणपति बसका तीन जना यात्रु सकुशल रहेका छन् । दुवै बससँगै ६१ जना हराइरहेकामा आइतबार बिहानसम्म चारवटा शव फेला परेको छ । तीमध्ये तीनवटा शव हराइरहेका बसका यात्रुको भएको आफन्तहरूले चिनेर सनाखत गरेका छन् । भेटिएर सनाखत भएका तीन शवमध्ये एउटा एन्जल बसका यात्रुको हो । गणपति बसमा दुई र एन्जलमा सात गरी कुल ९ भाारतीय नागरिक पनि बसमा थिए । तीमध्ये एक जनाको माात्र शव फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?