नेपाल आयरल्याण्ड दिवस २०२४ भव्यताका साथ सम्पन्न

लोकपथ
77
Shares

काठमाडौं । नेपाल आयरल्याण्ड दिवस–२०२४ आयरल्याण्डको फिनिक्स पार्कमा ठूलो उत्साह र सफलताका साथ मनाइएको छ । डब्लिनको फार्मले सन् २०१३ देखि यो दिवश मनाउँदै आइरहेको छ । नेपाल र आयरल्यान्डबीचको बढ्दो मित्रतालाई उजागर गर्दै दुई देशबीचको सम्बन्धको उत्सव मनाउने गरी जुलाई ७ मा १२औँ वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमको शुरुवातमा गंगाराम कँडेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि डेपुटी सिन क्रोले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथिहरूमा सिनेटर फिन्टन वारफिल्ड, सिनेटर क्याथरिन अर्डाग, कार्लो मेयर फिन्टान फेलानका, काउन्सिलर सुप्रिया सिंह, काउन्सिलर अमर अली, काउन्सिलर शेन मोयनिहान र काउन्सिलर डेल ब्यारोन थिए ।

आफ्नो मन्तव्यमा डेपुटी सिन क्रोले नेपाल र आयरल्यान्डबीचको बलियो र बढ्दो सम्बन्धमा जोड दिँदै विशेषगरी शिक्षा क्षेत्रमा थप सहकार्यको सम्भावनालाई जोड दिएका थिए । सिनेटर फिन्टन वारफिल्डले जनवरीमा क्याथोइर्लिच जेरी बुटिमरसँगको भ्रमणबाट आफ्ना सकारात्मक अनुभवहरू साझा गरेका थिए । उनले आयरल्याण्डमा पाकिस्तान, भारत र चीनका विद्यार्थीहरूको संख्या जस्तै नेपाली विद्यार्थीहरूको संख्या बढाउनु पर्ने आवश्यकतामा जोड दिएका थिए ।

नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेशमान शाक्यले नेपाल आयरल्यान्ड दिवसको ऐतिहासिक झलक प्रस्तुत गर्दै विगत ७–८ वर्षमा नेपाल–आयरल्यान्ड सम्बन्ध सुदृढ पार्नका लागि गरिएका प्रयासहरूको विस्तृत विवरण दिएका थिए । एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल आयरल्याण्ड सोसाइटीका कार्यसमिति सदस्यहरूलगायत पूर्वअध्यक्षहरु कृष्णकुमार डंगोल, जीवन तिमल्सिना, शारदा पेटिक्रेउ, एनआरएनए एनसीसी आयरल्याण्डका कार्यसमिति सदस्यहरुका साथै पूर्व अध्यक्षहरू गणेश प्रसाईं, राजन काफ्ले, नवराज कोइराला र विनोद कार्की तथा आयरल्याण्डमा रहेका विभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरुलाई डेपुटी सिन क्रोले खादाबाट सम्मान गरेका थिए ।

नेपाल आयरल्याण्ड दिवसको अवसरमा नेपाल सरकार तथा आयरल्यान्ड सरकारका उच्चस्तरीय व्यक्तित्वहरूले भिडियो सन्देश मार्फत शुभकामना दिएक थिए । सन्देश पठउनेहरूमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, आयरल्यान्ड सरकार तल्लो सदनका सभामुख, आयरल्यान्ड सरकार माथिल्लो सदनका अध्यक्ष, सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहकी सदस्य अनिशा नेपाली रहेका थिए ।

साँस्कृतिक कार्यक्रममा सरिना र सरना, सृष्टका थापा, चेल्सी सापकोटा, आकृति न्यौपाने, सान्वी चौलागाईं, अलिसा, अनिसा, उन्नति र प्रगति, कल्पना निरौला, क्रिस्टिना पोखरेल, दीपपक ताम्राकार, प्रजया न्यौपानेलगायतका कलाकारहरुको मनमोहक प्रस्तुति रहेको थियो । बालकृष्ण श्रेष्ठ र नामराज गौतमको सहयोगमा कार्यक्रमको कुशल संयोजन प्रजया न्यौपानेले गरेकी थिइन् । सो कार्यक्रमको सञ्चालन संगिता थापा र रनिसले गरेका थिए ।कार्यक्रममा नेपाली हस्तकलाका सामानहरू प्रदर्शन गरिनुका साथै ब्रोज मःमः का विकाश पण्डितले नेपाली खानाको स्टल पनि राखेका थिए ।

साथै नेपाल फोटो प्रदर्शनीमा भर्खरै नेपाल आएका आयरिश पर्यटकले खिचेका आकर्षक तस्बिरहरू पनि राखिएको थियो । हालै बागलुङ समाज र हिमालयन शैमरकले आयोजना गरेको कला प्रतियोगितामा सहभागी बालबालिकाको कलाकृति पनि प्रदर्शन गरिएको थियो । यसले कार्यक्रममा रंगीन र रचनात्मक स्पर्श थपेको थियो ।

यस्तै, चन्द्रकाजी घलेको संयोजकत्वमा भएको टुरिजम टक सो कार्यक्रममा अन्तर्दृष्टिपूर्ण छलफलहरू राखिएको थियो । सो कार्यक्रमको वक्ताहरूमा फ्रान्क एली, एनी मारी केनेडी र मोनिका थिए । उनीहरुले नेपाल भ्रमणका आफ्ना अनुभवहरू साझा गरेका थिए । पल डोहर्टी, पूर्व अक्सफाम र शेपका निर्देशकले नेपालमा आयरिश परोपकारी संस्थाहरूको प्रभावबारे चर्चा गरेका थिए ।

काग्यु बौद्ध धर्म आयरल्यान्डकी आनी योन्टेनले बुद्ध र बुद्ध धर्मको बारेमा कुरा गरेका थिए । यस कार्यक्रमको लागि विशेष रूपमा नेपालबाट आएका ङावा ङिमा शेर्पाले सगरमाथाको मनमोहक अन्तर्दृष्टि प्रदान गर्नुको साथै नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कुरा राखेका थिए ।

नेपाल आयरल्याण्ड दिवसको सफल समापनले नेपाल र आयरल्याण्डबीचको गहिरो सम्बन्धलाई जोड दिँदै आगामी वर्षहरुमा निरन्तर सहयोग र साँस्कृतिक आदानप्रदानको लागि मञ्च सेट गरेको छ । कार्यक्रमले दुवै राष्ट्रको जीवन्त संस्कृतिलाई मात्र होइन, उनीहरूबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले भावी पहलहरूको लागि मार्गप्रशस्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?