काठमाडौं । असार २८ गतेदेखि त्रिशूलीमा हराइरहेको बस र यात्रुको खोजीको लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइस मार्फत् खोजीकार्य शुरु गरिएको हो । नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनी साउण्ड वेभ पठाइ त्यहाँ रहेका वस्तुहरुलाई स्क्यान गरी आकृतिको रुपमा देखाउने प्रविधि हो । यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन । तर सोमबार प्रयोग गरिएको सोनार डिभाइस उच्चतम प्रविधिको साधन रहेको र यसको क्षमता २ सय मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने रहेको छ ।
धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउण्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनी रहेका सम्पूर्ण वस्तुहरुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले लिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया