शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर (रिटसहित)

लोकपथ
10.5k
Shares

काठमाडौं । प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्र चापागाईँ र शैलेन्द्र गुप्ताले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिट निवेदकहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको मागसमेत गरेका छन् । साथै ओलीलाई शपथ नगराउन पनि माग गरिएको छ ।
रिट निवेदकहरूले प्रधानमन्त्रीमा नियुक्त गरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति संविधान विपरीत भन्दै रिट दायर गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई असार ३० गते साँझ संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर हालका प्रधानमन्त्री ओलीको नियुक्ति संविधानको उक्त धारा अनुसार गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

रिट निवेदकहरूले संविधानको धारा ७६(२) अनुसार पहिले नै पुष्पकमल दाहाल प्रधानमन्त्री बनिसकेको र उनले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा सोही धाराबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन नमिल्ने जिकिर लिइएको छ । धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीको नियुक्ति बदर गरी धारा ७६ को उपधारा ३ बमोजिम ठुला दलका नेताको हैसियतले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नसमेत माग गरिएको छ ।

रिट निवेदकहरूले राष्ट्रपतिको कार्यालय, संघीय संसद सचिवालय, नेपाली काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा तथा दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली र संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएका छन् । अचम्म त के छ भने रिटमा विपक्षी बनाइएका शेर बहादुर देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेतको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?