स्वास्थ्य मन्त्रीमा नियुक्त प्रदीप पौडेल को हुन् ?

लोकपथ
4.2k
Shares

काठमाडौं । स्वास्थ्य मन्त्री तथा जनसंख्या मन्त्रीमा नियुक्त प्रदीप पौडेल १ चैत २०३२ मा शुक्ला–८, तनहुँमा जन्मिएका हुन् । पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

पौडेलले आफ्नो राजनीतिक जीवन अमृत क्याम्पसबाट नेपाल विद्यार्थी संघ नेताका रूपमा सुरु गरेका थिए । उनी सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए । सन् २००० देखि २००२ सम्म पौडेलले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा काम गरेका थिए । उनी सन् २००२ र २००७ को बीचमा तीन कार्यकाल नेपाल विद्यार्थी संघका उपाध्यक्ष थिए, त्यसपछि उनले सन् २००७ देखि सन् २०१२ सम्म नेपाल विद्यार्थी संघको अध्यक्षको रूपमा काम गरेका थिए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपेका थिए ।

सन् २०१४ सेप्टेम्बर १७ मा सुशील कोइरालाबाट नियुक्ति स्वीकार गर्दै उनी नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य भएका थिए । २०६७ सालबाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर हारेका थिए । २०७४ सालको निर्वाचनमा तनहुँबाट गण्डकी प्रदेश सभा सदस्यमा ६ मतले पराजित भएका उनी २०७९ सालको संसदको निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नं ५ बाट १५२३७ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका व्यक्ति हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १०१७५ मत मात्र प्राप्त गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा पौडेलले आफ्नो योगदानहरू फेहरिस्तसँगै ‘बीसीडी मोडेल’ (‘स्टप ब्रेन ड्रेन’, ‘फाइट करप्सन’ र ‘सस्टेनेबल डेभलपमेन्ट’) नामको चुनावी प्रतिबद्धता/अवधारणा सार्वजनिक गरेका थिए । पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध रहिसकेका छन् । विगतमा उनले एक विद्यालय, एक पुस्तकालय, सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालयमा इन्टरनेट एवं ई–लाइब्रेरी अभियान चलाएका थिए । साथै उनले उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएका थिए ।

संविधान लेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनस्र्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।

पौडेल कांग्रेसका युवा नेता गगन थापा र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नेपालको जनआन्दोलन २०६३ मा अग्रपंक्तिमा रहेका प्रमुख युवा व्यक्तित्व थिए । यति लामो राजनीतिक यात्रामा पनि प्रदीप पौडेल निष्कलंक, विवादरहित बन्न सफल भएका छन् । देश र जनताका लागि केही काम गर्ने हुटहुटी बोकेका उनको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आएको छ । आफ्नो कार्यकालमा उनले स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास सर्वसाधारणले गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा उनले जुन खालको काम गरेर वाहवाही बटुलेका थिए, पौडेलले त्यो भन्दा बढी काम गरेर आफ्नो क्षमता प्रदर्शन गर्नेमा धेरैले आश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?