काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषदमा १० जना नयाँ अनुहार रहेका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसले १० जना मन्त्री पाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको भागमा परेका १० ओटा मन्त्रालयमा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।
कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् । राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।
एमालेबाट मन्त्री बनेका देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता नयाँ अनुहार हुन् । उनीहरु पहिलो पटक मन्त्री बनेका हुन् । दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
यस्तै, २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य, मधेसीलगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थिति देखिँदैन । एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया