मुद्दा फर्स्यौटमा सर्वोच्चमा उल्लेख्य प्रगति

लोकपथ
63
Shares

काठमाडौं । मुद्दा फर्स्यौटका सम्बन्धमा सर्वोच्च अदालतले उल्लेख्य प्रगति गरेको पाइएको छ । सोमबार सर्वोच्च अदालतले आफ्नो अवस्थाबारे जानकारी दिँदै मुद्दा फर्स्यौटमा प्रगति भएको जानकारी दिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार पछिल्लो ५ वर्षको तुलना गर्दा यस वर्ष उल्लेख्य प्रगति भएको र मुद्दा फर्स्यौटमा तीव्रता आएको छ । यस आर्थिक वर्षमा कुल मुद्दामध्ये ३७ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरिएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्च अदालतमा हाल २५ हजार ४२८ थान मुद्दा बाँकी छन् । गत आर्थिक वर्षबाट लगतमा सरी आएको २८ हजार १३० थान र यस आर्थिक वर्षमा नयाँ दर्ता भएको १२ हजार ७८२ गरी कुल ४० हजार ९१२ थान मुद्दामध्ये यस आर्थिक वर्षमा १५ हजार ४८४ थान मुद्दा फर्स्यौट गरिएको सर्वोच्चले जनाएको छ ।

पछिल्लो ५ वर्षमध्ये यस आर्थिक वर्षमा सन्तोषजनक प्रगति
सर्वोच्च अदालतको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७६।०७७ मा कुल मुद्दामध्ये ३० दशमलव ५१ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७७।०७८ मा १५ दशमलव ८२ प्रतिशत मात्रै मुद्दा फर्स्यौट भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण कुल ३२ हजार ५३३ थान मुद्दामध्ये ५ हजार ७४८ थान मुद्दा मात्रै फर्स्यौट भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७८।०७९ मा १९ प्रतिशत मात्रै मुद्दा फर्स्यौट गर्न सकिएको थियो । अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९।०८० मा ३० दशमलव १७ प्रतिशत मुद्दा फर्स्यौट भएकामा यस आर्थिक वर्षमा भने झन्डै ३८ प्रतिशत मुद्दा फर्स्यौट भएको छ ।

नयाँ दर्ता हुने मुद्दाको सङ्ख्या समेत बढिरहेको अवस्थामा सर्वोच्च अदालतले यस आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा रहेको लगतभन्दा यस आर्थिक वर्षमा कम सङ्ख्यामा झारेको छ । यस आर्थिक वर्षमा करिब २ हजार ७ सय थान मुद्दा अघिल्लो आर्थिक वर्षभन्दा कममा झारेको छ ।

त्यसैगरी १० वर्ष नाघेका र ५ वर्ष नाघेका मुद्दा सुनुवाइमा अभियान नै सञ्चालन गरेको सर्वोच्चले १० वर्ष नाघेका मुद्दा ७ थानमा झारेको बताएको छ । त्यसैगरी ५ वर्ष नाघेका मुद्दामा पनि व्यापक सुनुवाइ भई फर्स्यौट भएको सर्वोच्चले बताएको छ ।

उच्च अदालतहरूको प्रगति उत्साहजनक
सर्वोच्च अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा उच्च अदालतहरूले समेत उत्साहजनक प्रगति गरेका छन् । देशैभरका उच्च अदालत र मातहत इजलासहरूले कुल ६२ दशमलव ६१ प्रतिशत मुद्दा फर्स्यौट गरेको पाइएको छ ।

त्यस्तै जिल्ला अदालतहरूले लगतमा रहेका कुल मुद्दामध्ये ५७ दशमलव शून्य ६ प्रतिशत मुद्दा फर्स्यौट गरेका छन् । उच्च र जिल्ला अदालतको प्रगति प्रतिशत हेर्दा सर्वोच्च अदालतको भने कम नै देखिन्छ । यस आर्थिक वर्षमा सबैभन्दा राम्रो फर्स्यौट भने विशेष अदालतले गरेको छ । विशेष अदालतले लगतमा रहेका मुद्दामध्ये ८८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?