मस्तिष्क मृत्यु पश्चात हुने अङ्गदान र अङ्ग प्रत्यारोपण सम्बन्धमा नीति निर्माताहरूसँग छलफल

लोकपथ
119
Shares

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मस्तिष्क मृत्यु पश्चात हुने अङ्गदान तथा प्रत्यारोपणका सम्बन्धमा अन्तरक्रिया गराएको छ । केन्द्रले नीति निर्माणका लागि सरोकारवालासँग छलफल गराएको हो ।

केन्द्रले सर्वोच्च अदालतका न्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतका सरोकारवालासँग छलफल गराएको हो ।

कार्यक्रममा सहभागीहरूले मस्तिष्क मृत्युपश्चात दानमा आएको अङ्गको वितरण कसरी हुन्छ भन्ने सम्बन्धमा जिज्ञासा राखेका थिए । जिज्ञासाका सम्बन्धमा केन्द्रले जानकारी दिँदै मस्तिष्क मृत्युबाट हुने अङ्ग वितरण नेपाल सरकारले बनाएको मापदण्ड अनुसार नै हुने र आवश्यकता तथा प्रायोरिटी अनुसार हुने जानकारी गराएको थियो ।

अङ्गदान र प्रत्यारोपण सम्बन्धी जानकारी सबैमा भयो भने मात्र अङ्ग प्रत्यारोपण सहज हुन सक्छ, त्यो भन्दा पनि आफू मरेपछि खरानी भएर जाने अङ्ग या गाडेर सकिने अङ्ग दान दिन सकेमा एकजना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने हुँदा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्त्वपूर्ण कुरा भएको केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा धेरै उल्लेखनीय काम गरेको बताइन् । केन्द्रमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले २४ सै घण्टा खटिएर काम गरिरहेको भन्दै सेवा सुविधा भने कम भएको बताइन् । लामो समय खट्ने चिकित्सक तथा कर्मचारीले परिवारको न्यूनतम आवश्यकता पूरा गर्नसमेत नसकेको भन्दै उनीहरूको सेवा र सुविधाका लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

कानुन मन्त्रालयका सचिव फणीन्द्र गौतमले केन्द्रको आफ्नै भवन नभएको र सानो स्थानबाट अङ्ग प्रत्यारोपण जस्तो कार्य सफलताका साथ सम्पन्न गर्न खटिने चिकित्सक कर्मचारीलाई कामको आधारमा मूल्याङ्कन गरी थप सेवा र सुविधा दिनु पर्ने र अङ्ग दाता परिवारलाई अङ्गदान गरेबापत सिधा पैसा दिनु भन्दा अन्य किसिमबाट सम्मानजनक सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अन्य अतिथिहरूले मस्तिष्क मृत्युबाट हुने अङ्गदान तथा प्रत्यारोपण प्रवर्द्धन गर्नको लागि जनचेतना अभिवृद्धि गरी मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो भनी बुझाउनु आवश्यक रहेकाले यसको प्रचारप्रसार गर्नुपर्ने र अङ्गदाता परिवारलाई शिक्षा, स्वास्थ्यको पहुँचमा सहुलियत दिने र राज्यले मान सम्मान गर्नुपर्ने तथा पारिवारिक बीमा गरिदिने जस्ता कार्यक्रम ल्याएमा प्रभावकारी हुने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?