कांग्रेसमा कसको कोटाबाट को मन्त्री बने ? सबैलाई मिलाएको भन्दै देउवाको प्रशंसा

लोकपथ
8.9k
Shares

काठमाडौं । मन्त्री छनौटलाई लिएर प्रायः विवाद भइरहने नेपाली कांग्रेसमा यो पटक कुनै विवाद भएन । विवाद नभएकै कारण नेपाली कांग्रेसले यो पटक आफ्नो भागमा परेका सबै १० ओटै मन्त्रालयमा एकैपटक नाम पठाउन सक्यो । ती सबैले शपथपछि आ–आफ्नो जिम्मेवारी पनि बहन गरिसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पार्टीका सबै शक्ति केन्द्र (गुट)लाई भाग दिएकाले यो सम्भव भएको हो । सभापति देउवाले यो पटक सबैको चित्त बुझ्ने गरी निर्णय लिएका हुन् ।
कांग्रेसले पाएका १० मन्त्रालयमा पार्टी सभापति देउवाले आफूलाई तीन ओटा मात्र राखेर सबै शक्तिकेन्द्रलाई भागबण्डा गरेको देखिन्छ । यतिसम्म कि उनले पार्टीका यसअघिका वरिष्ठ नेता रामचन्द्र पौडेल (हाल राष्ट्रपति) लाई समेत एक सिट दिएको चर्चा अहिले चलिरहेको छ ।

यसका अलावा सभापति देउवाले आफूसँग सभापतिमा लडेका (हाल इतर गु्रपको नेतृत्वकर्ता) शेखर कोइरालाको कोटाबाट २, महामन्त्री गगन थापाको कोटाबाट १, उपसभापति पूर्णबहादुर खड्काको कोटाबाट १ र पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइरालाको कोटाबाट एक एक जनालाई मन्त्री बनाएका छन् ।

सभापति देउवा समूहबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा आरजु राणा देउवा र कानुनमन्त्री अजय चौरसियाले अवसर पाउँदा शेखर कोइरालाको कोटाबाट पर्यटनमन्त्रीमा बद्री पाण्डे र कृषि मन्त्रीमा रामनाथ अधिकारीले अवसर पाएका छन् । त्यस्तै महामन्त्री गगन थापाले आफ्नो कोटाबाट प्रदीप पौडेललाई स्वास्थ्यमन्त्रीका रुपमा पठाउन सफल भएका छन् ।

त्यसो त शेखर–गगन समूहले ६०–४० को भागबण्डा भन्दै चार सिट माग्दै आएको थियो । सो समूहले सिफारिस गरेको नाममा तेजुलाल चौधरीको पनि नाम थियो । चौधरी मन्त्री बनिसकेका छन् । यद्यपि, उनी राष्ट्रपति रामचन्द्र पौडेलले इच्छाएको व्यक्ति भएको कांग्रेसमा चर्चा छ । यसअघि राष्ट्रपति पौडेलको कोटाबाट सुरेन्द्र आचार्य मन्त्री बनेका थिए ।

पूर्वमहामन्त्री सिंह भने आफै पार्टीको नेतृत्व गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री बनेर ओली सरकारमा सहभागी भएका छन् । अर्का पूर्वमहामन्त्री शशांक कोइरालाको कोटाबाट दीपक खड्काल ऊर्जा मन्त्री बनेका छन् । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य खड्का शशांक कोइरालाका विश्वास पात्र मानिन्छन् ।

यस्तै, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मुगुका ऐनबहादुर शाही ठकुरीलाई वनमन्त्री बनाएर आफ्नो कोटा सुरक्षित पारेका छन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै उपप्रधान तथा रक्षामन्त्री बनेका उपसभापति खड्काले मुगुका जिल्ला सभापति ठकुरीलाई मन्त्री बनाएका छन् ।

२०७९ चैतमा प्रचण्ड सरकारमा ९ मन्त्री पठाउँदा देउवाले शेखर कोइरालालाई मात्र भाग दिएका थिए । मन्त्री छनोटमा भाग नपाएपछि महामन्त्री थापा, प्रकाशमान सिंह, शशांक कोइराला लगायतले नेताहरू सभापति देउवासँग रुष्ट थिए ।

यो पटक भने देउवाले सबैलाई मिलाएका छन् । त्यसो त असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति भएपछि मन्त्रीको दौडमा आफ्नो निवास बुढानीलकण्ठ पुग्ने नेतालाई देउवाले ‘सबैलाई मिलाएर लैजाने’ बचन दिएका थिए ।

कांग्रेसका एक पदाधिकारीले यस पटक सभापति देउवाले बचनअनुसारको व्यवहार गरेको र पार्टीमा विवाद आउन नदिएको बताए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि सबैको चित्त बुझ्ने गरी मन्त्री छनोटको निर्णय लिएको बताए । ‘सभापतिले सबैलाई खुसी हुने गरी नै काम गर्नुहुन्छ । समावेशिता र भूगोलको असन्तुष्टि सम्बोधन हुने गरी बाँकी मन्त्री छनोट हुन्छ,’ उनले भने । २५ सदस्यीय मन्त्रिपरिषदमा ३ जना राज्यमन्त्री नियुक्त गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?