पर्वत जिल्ला अदालतमा ८३ प्रतिशत मुद्दा फर्स्यौट, १ वर्ष कटेका मुद्दासमेत शून्यमा

लोकपथ
399
Shares
तस्वीर : पर्वत जिल्ला अदालत/मदन ढुङ्गाना

काठमाडौं । पर्वत जिल्ला अदालतमा गत आर्थिक वर्षमा लगतको ८३ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । लगतमा रहेको ५२५ थान मुद्दामध्ये ४३८ थान मुद्दा फर्स्यौट भएको हो ।

पर्वत जिल्ला अदालतका स्रेस्तेदार राजु ढुङ्गानाका अनुसार अदालतले फर्स्यौट गर्ने भनी लिएको लक्ष्यभन्दा बढी नै फर्स्यौट गर्न सकिएको बताए । अदालतले गत आर्थिक वर्षमा कुल ३४५ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिइएकामा लक्ष्यको १२६ दशमलव ९७ प्रतिशत अर्थात् ४३८ थान मुद्दा फर्स्यौट गर्न सफल भएको हो ।

पर्वत जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको मुद्दाको सङ्ख्या ११७ थान रहेको थियो । गत आर्थिक वर्षमा ४१२ थान नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । तर अदालतमा नयाँ दर्ता हुने मुद्दाको सङ्ख्या अनुमान गरिएको भन्दा चार थान कम भई ४०८ थान नयाँ मुद्दा दर्ता भएको थियो ।

अनुमानित लगतकै हाराहारीमा मुद्दा रहेको भएपनि मुद्दा फर्स्यौटमा भन अदालतले छलाङ मारेको हो । देशैभरका जिल्ला अदालतहरूको औसत मुद्दा फर्स्यौट ५७ प्रतिशत रहँदा पर्वत जिल्ला अदालतले भने ८६ प्रतिशत फर्स्यौट गर्न सफल भएको हो ।

पर्वत जिल्ला अदालतका स्रेस्तेदार राजु ढुङ्गानाका अनुसार जिल्लाभित्र र अन्तर जिल्ला समन्वय गर्नुपर्ने मुद्दाहरूमा पनि निरन्तर फलोअप गरी समयमै म्याद तामेली गर्ने लगायतका काम गरी अङ्ग पुराउन सकिएकाले मुद्दा फर्स्यौटमा वृद्धि गर्न सकिएको बताए । ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह नै रहेको भन्दै सकेसम्म फरक मुद्दा व्यवस्थापन सम्बन्धी कार्यविधिले तोकेकै समयभित्र मुद्दाको फैसला दिने कोसिस गरिएको उनले बताए ।

स्रेस्तेदार ढुङ्गानाका अनुसार जिल्ला अदालतमा २ वर्ष नाघेका मुद्दा यसअघिकै शून्यमा झारिएको थियो भने अहिले एक वर्ष कटेका मुद्दा समेत शून्यमा झारिएको छ । नयाँ दर्ता भएका मुद्दाहरूमध्ये ८७ थान मुद्दा मात्रै बाँकी रहेको र त्यसमा एक थानबाहेक अरू सबै मुद्दा ९ महिनाभित्रका रहेको ढुङ्गानाले बताए ।

१० दिनभित्रै फैसलाको पूर्ण पाठ
पर्वत जिल्ला अदालतले फैसला भएको मितिले १० दिनभित्रै फैसलाको पूर्ण पाठ दिने गरेको समेत ढुङ्गानाले बताए । पुनरावेदन गर्ने, दायित्व पूरा गर्ने लगायतका काममा सहज होस् भनेर फैसला भएको मितिले १० दिनभित्रै फैसलाको पूर्ण पाठ तयार पारी सरोकारवालालाई जानकारी दिने गरिएको हो । फैसला तयार भएपछि पक्ष र विपक्षको मोबाइलमै म्यासेज जाने र सरकारी वकिललाई समेत समयमै त्यसको जानकारी पठाउने गरिएको छ ।

त्यसबाहेक अदालतले अदालत परिसरको सौन्दर्यका लागि बगैँचा निर्माण, सेवाग्राहीका लागि प्रतीक्षालय तथा सेवाग्राही बस्नका लागि बेन्चसमेत निर्माण गरिएको जनाएको छ । अदालतमा बिचौलियालाई प्रवेश निषेध गरिएकाले सेवाग्राहीले आफूले चाहेको सेवा सहजरूपमा लिने वातावरण बनाएको अदालतले जनाएको छ ।

पर्वत जिल्ला अदालतको न्यायाधीशमा विद्याराज पौडेल कार्यरत छन् । पर्वतमा एकजना मात्रै जिल्ला न्यायाधीशको दरबन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?