एसएसपीदेखि एआईजीसम्मका दुई दर्जन उच्च अधिकृत अवकाशमा जाँदै, को कहिले ?

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) देखि अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मका झण्डै दुई दर्जन अधिकारीहरु ६ महिनाभित्रै अवकाशमा जाने भएका छन् । उनीहरु उमेरहद र ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् । प्रहरीमा उमेरहद, सेवा अवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, तीन जना एआईजी, ९ जना नायव महानिरीक्षक (डीआईजी) र १० जना एसएसपी अवकाशमा जाँदैछन् । उनीहरु उमेरहद र ३० बर्से सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् । सेवा अवधिका कारण अवकाशमा जानेको संख्या भने शून्य छ ।

यो अवधिमा सबैभन्दा पहिला अवकाशमा डीआईजी विष्णुकुमार केसी र कृष्णहरि शर्मा पोखरेल अवकाशमा जाँदै छन् । बागमती प्रदेश प्रहरी प्रमुखसमेत रहेका डीआईजी केसी ३० वर्षे सेवा अवधिका कारण र पोखरेल ५६ वर्षको उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।

२०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका केसी पछि प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । उनी आगामी १५ भदौमा अनिवार्य अवकाशमा जाने भएका छन् । पोखरेल भने प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका व्याची हुन् । उनीहरु अब डेढ महिना पनि प्रहरीको बर्दीमा देखिने छैनन् ।

यस्तै, डीआईजी केसीसँगै प्रहरी सहायक निरीक्षकमा भर्ना भएका १० जना एसएसपी पनि उनीसँगै अवकाशमा जाने भएका छन् । एसएसपीहरु जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, दिनेशराज मैनाली, रविकुमार पौडेल, रेवती ढकाल, किसनसिंह थापा, चन्द्रदेव राई, बेलबहादुर पाण्डे, नवीनराज राई र वीरबहादुर वली ३० बर्से सेवा अवधिका कारण आगामी १५ भदौमा एकसाथ अवकाशमा जाँदैछन् । २०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनीहरुले पछि प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।

यी १० जना एसएसपी र एक जना डीआईजी अवकाशमा गएको डेढ सातामै एआईजी श्यामलाल ज्ञवालीले पनि प्रहरीको बर्दी फुकाल्ने छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखसमेत रहेका एआईजी श्यामलाल ज्ञवाली आगामी भदौ २६ गते ५६ बर्से उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।

ज्ञवाली प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन् । महानिरीक्षक कुँवर भने ३० बर्से सेवाअवधिका कारण आगामी ५ चैतसम्म पदमा बहाल रहने छन् । ज्ञवाली तिनै एआईजी हुन्, जसलाई तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आईजीपी बनाउन मरिहत्ते गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन सत्ता साझेदार दलको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण गृहमन्त्री लामिछानेको प्रयास असफल भएको थियो । ज्ञवाली आईजीपी बनेको भए हालको प्रहरी नियमावलीअनुसार उनी ५ चैतसम्म बहाल रहन्थे ।

यस्तै, एआईजी किरण बज्राचार्य र भीमप्रसाद ढकाल पनि अब लामो समय प्रहरीको बर्दीमा देखिने छैनन् । बज्राचार्य आगामी पुस १६ र ढकाल मंसिर २८ मा ५६ बर्से उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । हाल कार्य विभागमा कार्यरत बज्राचार्यलाई लामिछानेले गृहमन्त्रीको जिम्मेवारी लिएलगत्तै सीआईबीबाट कार्य विभागमा सरुवा गरेका थिए । उनी आईजीपी कुँवरकै व्याची हुन् । आईजीपी कुँवरकै ब्याचका एआईजीहरु सन्दीप भण्डारी, मीरा चौधरी र उमेशराज जोशीले ५६ बर्से उमेरहदका कारण अवकाश पाइसकेका छन् ।

ढकाल भने केही महिनाअघि मात्रै एआईजी बनेका थिए । एआईजी बनाउने बेला तत्कालीन गृहमन्त्री लामिछानेको उनलाई राम्रै आशीर्वाद प्राप्त भएको थियो । सोही कारण उनलाई मानव स्रोत विकास विभागमा पदस्थापन गरिएको थियो । यो विभाग एआईजीको पहिलो रोजाइमा पर्ने गर्छ ।

यसैगरी, डीआईजी यज्ञविनोद पोखरेल (हाल मधेश प्रदेश प्रमुख) असोज १४ गते उमेर हदका कारण अवकाश जाँदैछन् । डीआईजी अर्जुन चन्द ठकुरी (कर्णाली प्रदेश प्रमुख) पुस १ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी रामदत्त जोशी कात्तिक १८ गते अवकाशमा जाने भएका छन् ।

त्यसो त डीआईजी जोशी वरिष्ठतामा सबैभन्दा अघि छन् । एआईजी उमेशराज जोशीेको रिक्त स्थानमा उनी बढुवामा पर्न सक्छन् । बढुवा भएपनि उनी ५६ बर्से उमेर हदका कारण कात्तिक १८ मै अवकाशमा जान्छन् ।

यसैगरी, सीआईबीमा कार्यरत डीआईजी किरण राणा कात्तिक १६ गते, केदार ढकाल मंसिर २२ गते र भरतबहादुर बोहरा पुस १४ गते अवकाशमा जानेछन् । उनीहरु सबै ५६ वर्ष पूरा भएका कारण अनिवार्य अवकाश हुन लागेका हुन् ।

यस्तै राजेशनाथ बास्तोला कात्तिक ११ गते र कृष्णहरि शर्मा पोखरेल भदौ १५ गते अवकाश हुनेछन् । बास्तोलाको ३० वर्ष सेवा अवधि पूरा हुन एक वर्षभन्दा बढी समय बाँकी छ । उनी २०५२ कात्तिक २७ गते भर्ना भएका हुन् ।

यसैगरी, प्रहरी महानिरीक्षक कुँवरसँगै प्रहरी सेवामा प्रवेश गरेका एसएसपी भोलाबहादुर रावलले माघ १२ गते र गणेश चन्दले मंसिर २५ गते अवकाश पाउने छन् । नेपाल प्रहरीमा दुईजना डीआईजी खाली हुन लागेकाले उनीहरु डीआईजीमा बढुवा हुने सम्भावना छ । तर, उनीहरु ५६ वर्ष उमेर हदका कारण थोरै समय मात्र डीआईजी बन्ने छन् । यस्तै, एसएसपी गणेश चन्द पनि मंसिर २५ गते नै अवकाश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?