काठमाडौं। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फुटेको छ ।
नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीबाट फुटेर बनेको धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा बहुमत र वैद्य निकट पार्टीबीच २०८० साल वैशाख १७ गते एकता घोषणा भएको थियो ।
तर एकता भएको १५ महिनापछि धमेन्द्र बास्तोला कञ्चनले वैद्यसँगको एकता तोडेका हुन् ।
मंगलबार कन्चनले विज्ञप्ति जारी गर्दै उनले आफूहरु १५ महिनादेखिको एकतामा रहन नसक्ने कुरा जानकारी गराएका हुन् ।
‘एकता आज सफल नभए भोलि सम्भव छ, तर अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रोतर्फबाट भएका कैयौं प्रयत्नका बावजुद हामी सफल हुन सकेनौं । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं’, विज्ञप्तिमा भनिएको छ ।
यता क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका किरणले विज्ञप्ति जारी गर्दै महाधिवेशनको प्रक्रिया सुरु भइसकेको भन्दै महाधिवेशनलाई सफल बनाउने गरी लाग्न आग्रह गरेका छन् ।
‘कमरेड कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई महाधिवेशनको प्रक्रिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरुमाथिको बहसमा सहभागीहुँदै तथा आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ, आफ्नो मतलाई स्थापित गर्न विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिष्ट एकतालाई बाधा र दक्षिणपन्थी संधोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण पार्टी एकताको महत्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरुलाई विशेष आह्वान गर्दछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया