सीआईबी प्रमुख ज्ञवालीको विकल्प खोज्दै गृहमन्त्री लेखक

लोकपथ
5k
Shares

काठमाडौं । सरकार परिवर्तनसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई हटाउने तयारी भइरहेको छ ।

निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँगको निकटताका आधारमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई समेत ‘बाइपास’ गर्दै आएका सीआईबी प्रमुख ज्ञवालीलाई चार महिनामै सीआईबीबाटै हटाउन लागिएको हो । लामिछाने गृहमन्त्री भएलगत्तै सीआईबी प्रमुख किरण बज्राचार्यलाई सरुवाको समयअगावै हटाएर ज्ञवालीलाई ल्याइएको थियो । बज्राचार्यले लामिछाने संलग्न सहकारी घोटालासम्बन्धी अनुसन्धान गरिरहेकाले उनलाई नियतबश हटाइएको थियो ।

लामिछाने गृहमन्त्री हुनु अगावै सीआईबीले उनी मुछिएका सहकारी ठगीका फाइल झिकाएर अनुसन्धान गरिरहेको थियो । आफूमाथि अनुसन्धान गर्ने एआईजी बज्राचार्यलाई त्यहाँबाट हटाएर ज्ञवालीलाई गत चैतमा सीआईबी प्रमुखको जिम्मा दिइएको थियो ।

सीआईबीमा ज्ञवाली आएपछि लामिछाने मुछिएका सहकारी ठगीसम्बन्धी फाइल अघि बढ्न नसकेको मात्र होइन, प्रमाण नै लुकाउन भूमिका खेलेको आरोप पनि उनीमथि लागेको छ । उनीमाथि आईजीपी कुँवरलाई हटाएर आफू आईजीपी बन्न खेल खेलेको आरोप पनि छ । निवर्तमान गृहमन्त्री लामिछानेले कुँवरलाई हटाएर ज्ञवालीलाई प्रहरी प्रमुख बनाउन पटक पटक प्रयास गरेका थिए । तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दलको प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले साथ नदिएपछि उनको प्रयास असफल भएको थियो ।

उपत्यका प्रहरी कार्यालयको प्रमुख हुँदा एआईजी ज्ञवाली नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडि बढाउन र अनुसन्धान गर्न आफैँ खटिएका थिए । उनको यो कार्यलाईवर्तमान सत्ता घटक नेपाली कांग्रेस र नेकपा एमालेले नै रुचाएका छैनन् । उपत्यका प्रहरी कार्यालय प्रमुख भएर काम गर्दा पनि उनलाई साढे चार महिनामै हटाएर प्रहरी प्रधान कार्यालयस्थितकार्य विभागमा लगिएको थियो । नेपाली कांग्रेस सत्तामा हुन्जेल कार्य विभागमै रहेका ज्ञवालीलाई लामिछाने गृहमन्त्री भएपछि सीआईबी प्रमुखको जिम्मेवारी दिइएको थियो ।

निवर्तमान गृहमन्त्री लामिछानेमाथिको अनुसन्धान रोकेको भन्दै कांग्रेसले यसअघि सीआईबी प्रमुख ज्ञवालीको चर्को आलोचना गरेको थियो । वर्तमान गृहमन्त्री रमेश लेखक स्वयंले त्यसको नेतृत्व गरेकाले ज्ञवालीको दिनगन्ती सुरु भइसकेको चर्चा प्रहरी प्रधान कार्यालयमा पनि हुन थालेको छ । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयकै कुनै विभागमा लैजाने सम्भावना छ ।

एआईजी ज्ञवाली ५६ बर्से उमेर हदका कारण आगामी भदौ २६ गते अवकाशमा जाँदैछन् । उनीमाथि ६० किलो सुन प्रकरणमा संलग्न माओवादी नेताहरुलाई जोगाएको आरोप पनि छ । उनलाई हटाएर हाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी सुदीप गिरीलाई सीआईबी प्रमुखको जिम्मा दिने बढी सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?