कांग्रेस–एमाले गठबन्धनमै अटाउलान् फणिन्द्र देवकोटा र दिपक मनाङे ?

लोकपथ
2k
Shares

काठमाडौं। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको नयाँ गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा पनि देखिएको छ ।

यसअघि एमाले र कांग्रेस नेतृत्वको सरकार रहेका प्रदेशहरुमा त्यही सरकारले निरन्तरता पाउनेछ । तर माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको नेतृत्वमा रहेको सरकार फेरिँदैछन्, धेरै प्रदेशहरुमा सरकारलाई दिएको समर्थन समेत फिर्ता भइसकेको छ ।

हाल कोशी प्रदे्शमा नेकपा एमाले, मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत, बागमती प्रदेशमा माओवादी केन्द्र, गण्डकी प्रदेशमा नेपाली कांग्रेस, लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, कर्णाली प्रदेशमा नेकपा एमाले र सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेतृत्वको सरकार रहेको छ ।

नयाँ समीकरण बनेको साथै माओवादी केन्द्रसँगै एकीकृत समाजवादी सरकार भन्दा बाहिर रहँदा सुदूरपश्चिम प्रदेश गुमाउँदैछ । भने माओवादी केन्द्रले बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सत्ताबाट बाहिरिनेछ । यता मधेस प्रदेशमा भने केन्द्र सरकारमा जनमतले सघाएमा त्यहाँको सरकार जोगिनेछ । साथै अन्य प्रदेशका हकमा भने ‘पावर सेयरिङ’ को सहमतिमा दुई दलले सत्ता टिकाउने देखिन्छ ।

अहिले गण्डकी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले गरिरहेका छन् । उनको दल नेपाली कांग्रेससहित राप्रपाका दुई प्रदेश सभा सदस्य, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) को समर्थन उनीमाथि रहेको छ । तर केन्द्रमा नयाँ गठबन्धन बनेसँगै अब त्यहाँ के हुन्छ भन्ने चर्चा चल्न थालेको छ । राप्रपासहित फणिन्द्र र दिपक मनाङले मुख्यमन्त्रीको साथ छाडे पनि सहकार्यमा एमाले आएपछि मुख्यमन्त्री पाण्डेलाई सरकार चलाउन भने सहज हुनेछ । तर मनाङे र फणिन्द्रलाई यही गठबन्धनले साथमा राख्ला वा नराख्ला भन्ने चासो सबैतिर छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ प्रदेश सभा सदस्यको साथ चाहिन्छ । नेपाली कांग्रेससँग २७ मत मात्रै रहेको अवस्थामा मनाङे र देवकोटासहित राप्रपाले विश्वासको मत दिएर पाण्डे नेतृत्वको सरकारले विश्वासको मत पाएको थियो । २२ सिट रहेको एमालेले मुख्यमन्त्री पाण्डेलाई सघाउँदा सहज हुने भए पनि संकटको बेला साथ दिएका दुई सांसदलाई पनि साथमै लिएर अघि बढ्ने तयारीमा कांग्रेस देखिन्छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आफूहरुले नयाँ समीकरणमा दुई प्रदेशसभा सदस्यलाई पनि साथमै लगेर अघि बढ्ने लोकपथलाई जानकारी दिए । संकटका बेला साथ दिएका कारण सहज अवस्था आएपछि साथ छाड्न नहुने उनले बताए ।

‘संकटका बेला साथ दिएको कारण अहिले सहज अवस्थामा उहाँहरुलाई साथ छाड्नु नैतिक रुपमा पनि मिल्ने देखिँदैन,’ उनले लोकपथसँग भने, ‘हामी अबको सत्ता सहयात्री दल एमालेसँग पनि कुरा गरिरहेका छौँ ।’

गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले गत जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिए पछि माओवादी केन्द्रले उनीमाथि कारबाही समेत गरेको थियो । त्यसविरुद्ध उनले सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । सर्वोच्चले कारबाही कार्यान्वयन नगर्न आदेश दिएसँगै उनको पद जोगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?