मौद्रिक नीति आज सार्वजनिक नहुने, संशोधनपछि मात्रै सार्वजनिक गर्ने तयारी

लोकपथ
147
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आज शुक्रबार सार्वजनिक नहुने भएको छ । बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा नियुक्त डा.युवराज खतिवडाले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीतिमा केही संशोधनको आवश्यकता औंल्याएकाले आज शुक्रबार सार्वजनिक नहुने भएको हो ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले बिहीबार नै मौद्रिक नीति पारित गरेको थियो । आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठक आज बिहीन बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसेको थियो । मौद्रिक नीति पारित गर्ने एजेन्डा आजको बैठकबाट हटाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडाले हिजो बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । सो ब्रिफिङमा डा. खतिवडाले केही संशोधनको आवश्यकता औंल्याएको स्रोत बताउँछ ।

आर्थिक सल्लाहकार डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर समेत हुन् । उनी मौद्रिक नीतिका विज्ञ मानिन्छन् । उनी अर्थमन्त्री भइसकेका व्यक्ति पनि हुन् । नयाँ बनेको सरकारले मौद्रिक नीतिमा आफ्ना कुराहरु समावेश गर्न चाहनु स्वभाविक हुने उनको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?