काठमाडौं । अभिनेत्री पूजा शर्माले निर्माण गरेको चलचित्र ‘रावायण’ फेरी विवादमा तानिएको छ । निर्माता एवं अभिनेत्री पूजा शर्माले सम्झौता विपरीत चलचित्रको वितरक परिवर्तन गरेपछि रावायण विवादमा परेको हो । काठमाडौं उपत्यकामा वितरण गर्नका लागि उनले मंगलबार ‘आरआर फिल्मस्’का रोहित कट्टेल र रत्न महर्जनसँग आफूखुशी सम्झौता गरेपछि यसअघि वितरण अधिकार पाएका वितरक करण श्रेष्ठ (क्रेजी) पूजासँग रिसाकएका छन् ।
आफूलाई जानकारी नै नदिई निर्माता पूजा शर्माले अर्का वितरकलाई यो वितरण अधिकार दिएको उनको दाबी छ । वितरक करण श्रेष्ठले वितरण अधिकार लिँदा आफूले एक वर्षअघि पूजा शर्मालाई ९ लाख रुपैयाँ दिएको दाबी गरेका छन् । ‘मैले दिएको ९ लाख रुपैयाँ एक वर्षपछि मेरो खातामा अस्ति फिर्ता गरिएछ, तपाईंसँग लिएको पैसा पठाएको छु है भन्दै उहाँहरुको म्यासेज आउँदा म छक्क परेँ,’ उनले भनेका छन्, ‘एक वर्ष ९ लाख रुपैयाँ चलाएर व्याजबिना फिर्ता गरियो ।’ ‘मसँग सल्लाह गरेर रावायणको वितरण अधिकारको लागि मैले दिएको ९ लाख रुपैयाँ ब्याजसहित फिर्ता पनि त गर्न सक्नु हुन्थ्यो नि । मसँग पैसा लिएर एक वर्ष चलाएर यतिबेला चलचित्र वितरण गर्ने बेलामा अर्कोलाई चलचित्र दिएर मेरो पैसा बिनाव्याज फिर्ता गर्नु कहाँसम्मको उचित हो ?’ करणले प्रश्न गरे ।
अर्को वितरकसँग सम्झौता गरेर अभिनेत्री पूजा शर्मा बिहीबार बिहानै बेलायततर्फ लागेकी छिन् । निर्देशक सुदर्शन थापा पछिल्लो समय फोन सम्पर्कमा छैनन् । त्यसैले अब आफू न्यायको लागि प्रहरी र अदालतमा जाने पनि वितरक करणले बताए । रावायण लामो विवादपछि कलाकार परिवर्तन गरेर निर्माण गरिएको चलचित्र हो । यस अघि यो चलचित्रमा अनमोल केसी र नीति शाहलाई अनुबन्धित गरिएको थियो । चलचित्रको स्कृप्ट मन नपरेको भन्दै अनमोल केसीले यो चलचित्र त्यतिबेला नखेल्ने बताए । त्यसपछि यसका निर्माता निर्देशक सुदर्शन थापाले आफूलाई अनमोलका कारण करोड घाटा भएको भन्दै अनमोललाई प्रहरी हिरासतमा समेत पु¥याए । यो काण्डपछि अनमोलले रावायणमा काम गरेनन् । अनमोलले यो चलचित्रमा काम नगरेपछि उनको ठाउँमा अर्का अभिनेता पल शाहलाई राखिएको थियो । पूजा शर्माले लगानी गर्ने भएपछि अर्की अभिनेत्री नीति शाहलाई हटाएर यो चलचित्रमा पूजा शर्मालाई लिइएको थियो । आगामी भदौको चौथो सातामा प्रदर्शन हुने भनिएको यो चलचित्रको केही छायाँकन बाँकी छ । अहिले सम्पादनको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया