काठमाडौं । उपसभामुख इन्दिरा राना यतिबेला विवादमा तानिएकी छिन् ।
रानाले सन् २०२३ फेब्रुअरी २६ मा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा मुछिएकी हुन् ।
उपसभामुख रानाले संघीय संसद्को लेटरहेड प्रयोग गरी अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको जानकारी गराएकी थिइन् । साथै उनले व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि अहिले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको हो ।
लामो समयपछि उक्त पत्र सार्वजनिक भएपछि उनको विरोध मात्र भइरहेको छैन अहिले उनको राजीनामा समेत माग्न थालिएको छ ।
रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी थिइन् ।
उक्त पत्र सार्वजनिक भएकोबारे सभामुख देवराज घिमिरेले समेत चासोको रुपमा लिएका छन् । संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफलका लागि बिहीबार सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । सो क्रममा प्रमुख सचेतकहरुले त्यसविषयमा चासो राखेका थिए । सभामुख घिमिरेले आफूले गम्भीरताका साथ हेरेको भन्दै छानबिन हुनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ ।
२०७९ साल माघ ७ गते उपसभामुखमा निर्वाचित भएकी थिइन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको रुपमा अघि सारेको थियो । रास्वपाको समानुपातिकबाट सांसद समेत बनेकी उनी उपसभामुख भए पछि पार्टीबाट राजीनामा दिए पनि त्यसले रास्वपालाई फेरि विवादमा तानेको छ । तर रास्वपाले भने अहिलेसम्म त्यस विषयमा चासो दिएको देखिँदैन ।
उपसभामुख संवैधानिक पद हुने भए पनि रास्वपाबाट निर्वाचित भएका कारण त्यसबारे रास्वपामाथि पनि प्रश्न उठेको छ ।
छोटो समयमा राष्ट्रिय राजनीतिलाई तरंगित बनाउँदै गत निर्वाचनबाट उदाएको दल छोटो समयमा नै विवादको चंगुलमा फसिरहेको छ ।
पार्टीका सांसद आर्थिक लेनदेनमा मुछिएपछि पदमुक्त हुने अवस्था आएको रास्वपामा भर्खरै मात्र पार्टीका महामन्त्री नै निलम्बन गर्नुपर्ने अवस्थाले रास्वपा थप विवादमा मुछिएको छ । उक्त प्रकरण सेलाउन नपाउँदै पुनः पार्टीबाट निर्वाचित उपसभामुख विवादमा तानिएपछि रास्वपामाथि समेत प्रश्न उठिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया