बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा मृतकको संख्या ३९ पुग्यो

लोकपथ
105
Shares

ढाका । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा हालसम्म ३९ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबारको झडपमा १०४ जना प्रहरी अधिकारी, ३० जना पत्रकारसहित जम्मा ७०२ जना घाइते भएको निजी प्रसारण संस्था इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्कले जनाएको छ ।

बंगलादेशका ६४ वटा जिल्लामध्ये कम्तीमा २६ जिल्लामा बिहीबार झडप भएको नेटवर्कले जनाएको छ । प्रदर्शनकारीले बिहीबार धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बंगलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनासकारी गतिविधि गरेको उल्लेख छ ।

बंगलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रहरीले हालसम्म अधिकतम धैर्यता कायम गरेको उल्लेख गर्दै विनाशकारी गतिविधि जारी रहे कानूनको अधिकतम प्रयोग गर्न बाध्य हुनेसमेत जनाएको छ । निजामती सेवामा आरक्षणलगायत भर्नासम्बन्धी नियमहरूमाथि विद्यार्थीले विरोध जनाउँदै सुरु गरेको आन्दोलन विनाशकारी गतिविधितर्फ अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?