गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरणका लागि निर्देशिका बनाइने

लोकपथ
49
Shares

ललितपुर । समाज कल्याण परिषदले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्तमन्त्री तथा परिषदका अध्यक्ष नवलकिशोर साह सुँडीले शुक्रवार परिषदमा पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

परिषदमा आबद्ध भएका गैर नाफामूलक संघसंस्थाहरूको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका तर्जुमा गर्न आवश्यक देखिएकोले सो निर्देशिका तयार गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो । यसै गरी मन्त्री सुँडीले सातै प्रदेशमा परिषदको कार्यालय स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउने निर्णयमा समेत हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा बोल्दै मन्त्री सुँडीले सम्पूर्ण कर्मचारीले सहयोग नगरेमा कुनै पनि सरकार वा मन्त्री सफल हुन नसक्ने बताउँदै सबैले एकमन एकताका साथ काम गर्न आवश्यक रहेको बताए । कतिपय सरकारको आयु कम हुँदा पनि समस्या उत्पन्न भएको भन्दै उनले यस पटक केही लामो समय काम गर्न सकिने अवस्था रहेको बताए । 

प्रदेश सरकारमा पाँच वर्ष सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेको भन्दै उनले सङ्घको मन्त्रालयको नेतृत्व गर्दै गर्दा आफ्नो तर्फबाट मन्त्रालय र परिषदलाई राम्रो बनाउनका निम्ति आफूले ध्यान दिने बताए । समस्या सबैतिर भए पनि सबै समस्याको समाधान प्रेमपूर्वक गर्नुपर्ने बताए ।

यसै गरी मन्त्री तथा परिषदका अध्यक्ष सुदीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै परिषदका उपाध्यक्ष नन्दलाल माझीले मन्त्रीको पूर्ण कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

यसै गरी परिषदका कोषाध्यक्ष विनय लामाले परिषदलाई राम्रो बनाउनका निम्ति कम्तीमा पनि दुई वर्षसम्म मन्त्रालयमा रहेर काम गर्ने वातावरण सिर्जना हुन सकेमा राम्रो हुने बताए । परिषद्को आन्तरिक सुशासन कायम गर्न कतिपय काम गर्नुपर्ने बताए ।

यसै गरी परिषदका सदस्य सचिव मनोज भट्टले गैरसरकारी संस्थाहरूले ल्याएको रकम परिषद्ले स्वीकृत गरेपछि राष्ट्र बैंकले उनीहरूको खातामा रकम पठाउने व्यवस्था भए पनि कतिपयले परिषद्ले यी कुरा नबुझेर गलत कुरा फैलाउने अवस्था पनि रहेको बताए । परिषदले अनुगमन, मूल्याङ्कन गर्ने बताउँदै उहाँले यी कुरा सबैलाई बुझाउन आवश्यक रहेको बताए । 

परिषदसँग स्रोत, जग्गा सबै भए पनि आफ्नै भवन नहुँदा दैनिक कामकाज सञ्चालन गर्न कठिनाइ भएको बताए । 

यसै गरी परिषदका आर्थिक प्रशासन विभागीय प्रमुख सञ्जय मल्लिक, परिषद कर्मचारी सङ्घका अध्यक्ष प्रकाशचन्द्र भट्ट, परिषद कर्मचारी संगठनका अध्यक्ष बिकुल आचार्यले मन्त्री तथा परिषदका अध्यक्ष सुदीको कार्यकाल सफलताको कामना गर्दै परिषदमा लामो समयदेखि कर्मचारीहरूको वृत्ति विकास रोकिएकोले ती कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

परिषदका उपाध्यक्ष नन्दलाल माझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिषदका योजना तथा कार्यक्रम विभागीय प्रमुख रामराज भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?