प्रहरीको ८ सय २ युनिटमा शौचालयसमेत छैन

लोकपथ
322
Shares

काठमाडौं । नेपाल प्रहरीको ८०२ वटा युनिटमा शौचालयसमेत नभएको पाइएको छ । आइतबार केन्द्रीय प्रहरीले आफ्नो विद्यमान अवस्थाबारे समेत जानकारी दिन आयोजना गरिएको कार्यक्रममा प्रहरी युनिटमा शौचालयसमेत नभएको तथ्य प्रस्तुत गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी दान बहादुर कार्कीका अनुसार नेपाल प्रहरीका कुल २ हजार ६६० युनिटमध्ये १ हजार ८५८ युनिटमा शौचालयको व्यवस्था भएपनि ८०२ स्थानमा अझै शौचालय समेत छैन । उनीहरू शौचालय जानु परेमा नजिकको रेष्टुरेण्ट वा छिमेकमा जानुपर्ने बाध्यता रहेको छ ।

प्रहरीको भौतिक संरचनाबारे जानकारी दिँदै प्रवक्ता कार्कीले कुल २ हजार ६ सय ६० इकाईमध्ये १ हजार ६ सय १८ इकाईको आफ्नै जग्गा भएपनि १ हजार ४२ इकाईको आफ्नो जग्गा रहेको छैन ।

त्यसैगरी २ हजार ६ सय ६० इकाईमध्ये ७९१ इकाईको आफ्नै भवन छैन भने ८४३ इकाईको आफ्नो ब्यारेक छैन । त्यस्तै कुल इकाईमध्ये १ हजार ८२७ इकाईमा मेसको व्यवस्था रहेको भएपनि ८३३ इकाईमा आफ्नो मेससमेत रहेको छैन ।

प्रहरीका इकाईमध्ये ३७० वटा इकाई भाडाका घरमा सञ्चालित छन् ४२१ वटा इकाईहरू अन्य संघ संस्थाको भवनमा आश्रित भई सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?