काँकडभिट्टा नाका हुँदै आउन थाले बंगलादेशमा रहेका नेपाली

लोकपथ
224
Shares

विराटनगर । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वी नाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिवार १४१ जना, शुक्रवार ११४ जना र विहीवार ८५ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रिएका छन् ।

बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरूले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरेर स्वदेश फर्किन थालेका हुन् ।

ढाकास्थित नेपाली राजदूतावासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टेलबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउन भनिएको छ ।

बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएका कारण वाट्स एप, मेसेन्जर लगायतका मोबाइल एप्लिकेसनबाट सम्पर्क गर्न समस्या भइरहेको बताइन्छ ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौं र काँकडभिट्टा नाका हुँदै स्थल मार्गबाट नेपाल आउन थालेका हुन् । आइतबार हवाई मार्गबाट १७ विद्यार्थी नेपाल आइपुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?