बढ्दो आत्महत्या : आत्महत्या गर्नेमा साधारण लेखपढ मात्रै गर्ने बढी

लोकपथ
168
Shares

काठमाडौं । देशमा आत्महत्याको दर बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय प्रहरीले आइतबार एक शोधपत्र सार्वजनिक गर्दै आत्महत्याको दरमा वृद्धि हुँदै गएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

केन्द्रीय प्रहरी कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रहरीले आत्महत्याको वर्तमान अवस्था र रोकथामका लागि गर्नुपर्ने कामबारे अध्ययनसहित निष्कर्ष दिएको हो ।

नेपाल प्रहरीका मनोचिकित्सक रहेका प्रहरी वरिष्ठ उपरीक्षक (प्राविधिक) डा. आशिष दत्तले आफ्नो अध्ययनको निचोड सार्वजनिक गर्दै आत्महत्याको दर बढिरहेको र कलिलो उमेरमै आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भइरहेको बताएका हुन् ।
प्रहरीले विगत ५ वर्षको आत्महत्या को तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७।०७८ बाहेक अन्य वर्षहरुमा आत्महत्यामा वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५।०७६ मा ५ हजार ७८४ जनाले आत्महत्या गरेकामा २०७६।०७७ मा ६ हजार २७९ जनाले आत्महत्या गरेको पाइएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७।०७८ मा आत्महत्या गर्नेको सङ्ख्या बढेर ७ हजार १४१ जना पुगेको पाइएको छ । आर्थिक वर्ष २०७८।०७९ मा भने त्यसमा केही घट्दै ६ हजार ८३० जनाले आत्महत्या गरेकामा आर्थिक वर्ष २०७९।०८० मा पुनः वृद्धि भई ६ हजार ९९७ जनाले आत्महत्या गरेको पाइएको छ ।

हेर्नुहोस् इन्फोग्राफिक्स

आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी
प्रहरीको विगत ५ वर्षको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी रहेको पाइएको छ । विगत ५ वर्षमा आत्महत्या गरेर मृत्युवरण गर्नेमध्ये ६० प्रतिशत पुरुष रहेका छन् भने ४० प्रतिशत महिलाले आत्महत्या गरेको पाइएको छ ।

कोशी प्रदेशमा आत्महत्याको दर बढी
प्रहरीको तथ्यांकमा रहेको विवरण अनुसार प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा आत्महत्याको सङ्ख्या र दर बढी रहेको देखिन्छ । प्रहरीका अनुसार कोशी प्रदेशमा प्रति एक लाख जनामध्ये ३० जनाले वार्षिकरुपमा आत्महत्याबाट मृत्यु राजेको पाइएको छ । प्रति लाख जनसङ्ख्याका आधारमा कोशीपछि गण्डकी प्रदेशका मानिसहरू बढी आत्महत्या गर्नेमा रहेको देखिन्छ । गण्डकी प्रदेशमा प्रति एक लाखमा वार्षिक २९ जनाले आत्महत्या गरेको पाइएको छ ।

गण्डकीपछि लुम्बिनी प्रदेशमा प्रति एक लाख २५ जना, बागमती प्रदेशमा २४ जना, सुदूरपश्चिम प्रदेशमा २१ जना र मधेश तथा कर्णाली प्रदेशमा १७।१७ जनाले आत्महत्या गरेको पाइएको छ ।

आत्महत्या गर्नेमध्ये झण्डै दुईतिहाई साधारण लेखपढ मात्रै गर्ने व्यक्ति
विगत ५ वर्षको आत्महत्याको तथ्याङ्क केलाउँदा आत्महत्या गरेर ज्यान फाल्नेमध्ये ६३ दशमलव एक प्रतिशत व्यक्ति साधारण लेखपढ मात्रै गर्न जान्ने रहेको पाइएको छ । आत्महत्या गर्नेमध्ये आधारभूत शिक्षा लिएका २ दशमलव ८ प्रतिशत, निम्न माध्यमिक शिक्षा लिएका ६ दशमलव ७ प्रतिशत, माध्यमिक शिक्षा लिएका १३ प्रतिशत, उच्च माध्यमिक शिक्षा लिएका ५ दशमलव १ प्रतिशत, स्नातक अध्ययन गरेका ९ प्रतिशत र स्नातकोत्तर अध्ययन गरेका शून्य दशमलव ४ प्रतिशतले आत्महत्या राजेको पाइएको छ । अध्ययनले अनपढ वा साधारण लेखपढ गर्नेहरूले बढी आत्महत्या गरेको पाइएको हो ।

आत्महत्यामा आदिवासी जनजाति बढी
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेहरूमध्ये ३९ प्रतिशत जनसङ्ख्या आदिवासी जनजातिको रहेको छ । त्यस्तै ३१ दशमलव १ प्रतिशत ब्राम्हण क्षेत्री, २० दशमलव ५ प्रतिशत दलित र ९ दशमलव ३ प्रतिशत मधेसका रहेका छन् ।

कम उमेरमा महिला र बढी उमेरमा पुरुषको आत्महत्या दर बढी
प्रहरीले तयार पारेको तथ्याङ्क अनुसार उमेर समूहका आधारमा सबैभन्दा बढी आत्महत्या १८ देखि २५ वर्षको उमेरमा भएको पाइएको छ । सो उमेर समूहमा महिलाले बढी आत्महत्या गरेको पाइएको हो ।

उमेर समूह र लिङ्गको आधारमा विश्लेषण गर्दा शून्य देखि १० वर्षको उमेरमा आत्महत्या गर्नेमध्ये महिलाको सङ्ख्या शून्य दशमलव ९ प्रतिशत र पुरुषको शून्य दशमलव ७ प्रतिशत रहेको छ ।

त्यसैगरी १० देखि १८ वर्षको आत्महत्याको दर हेर्दा २५ दशमलव ९ प्रतिशत महिला र १७ दशमलव ६ प्रतिशत पुरुषले आत्महत्या गरेको पाइएको छ ।

त्यस्तै २५ देखि ३५ वर्षसम्मको आत्महत्याको तथ्याङ्क विश्लेषण गर्दा १७ दशमलव ४ प्रतिशत महिला र १८ दशमलव ६ प्रतिशत पुरुषले आत्महत्या गरेको पाइएको छ ।

३५ देखि ४५ वर्ष उमेर समूहको आत्महत्याको विश्लेषण गर्दा १३ दशमलव १ प्रतिशत महिला र १८ दशमलव ५ प्रतिशत पुरुषले आत्महत्या गरेको पाइएको छ । त्यसपछि सबै उमेर समूहमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या बढी छ । २५ वर्षसम्मको उमेरमा भने आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।

अधिकांश आत्महत्या मानसिक समस्याकै कारण
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमध्ये ६५ प्रतिशत मानिसहरू कुनै न कुनै मानसिक समस्यामा रहेको पाइएको छ । आत्महत्या गर्नेमध्ये ३८ दशमलव ८ प्रतिशत मानसिक रोगी रहेका छन् भने २७ दशमलव ८ प्रतिशत मानसिक तनावमा रहेका व्यक्तिहरू छन् । त्यसैगरी ८ दशमलव २ प्रतिशतले प्रेममा असफलताका कारण आत्महत्या गरेका छन् भने ८ प्रतिशतले आर्थिक समस्याका कारण आत्महत्या गरेका छन् ।

स्रोत : नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?