चेतनारायण आचार्य बन्दैछन् लुम्बिनीका मुख्यमन्त्री

लोकपथ
441
Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । आचार्यले आफू मुख्यमन्त्री बन्न लागेको पुष्टि गरे । ‘पार्टीले मलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको छ, सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारीमा छौं,’ उनले भने । आचार्य माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए । उनी लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् । संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?