बागमतीमा एमालेको बार्गेनिङ, आज मुख्यमन्त्रीमा दाबी पेस नहुने

लोकपथ
511
Shares

काठमाडौं । बागमती प्रदेशमा आज हुने भनिएको मुख्यमन्त्रीको दाबी पेस नहुने भएको छ ।

अल्पमतमा परेपछि आइतबार निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

सोही अनुसार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले एमालेको समर्थनमा दाबी पेस गर्ने तयारी गरेका थिए । तर सत्ता सहयात्री दल नेकपा एमालेले मन्त्रीमा बार्गेनिङ गरेपछि आज दाबी पेस नहुने भएको कांग्रेसका एक प्रदेश सभा सदस्यले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार कांग्रेसले ठूलो दलको हैसियतले मुख्यमन्त्री बाहेक ६ मन्त्रालय राख्ने र एमालेलाई ५ मन्त्रालय दिने सहमति भएको थियो । तर एमालेले अहिले ६ मन्त्रालय आफूहरुले पाउनुपर्ने अडान राखिरहेको छ ।

‘सुरुमा हामीले ठुलो दलको हैसियतमा मुख्यमन्त्रीबाहेक ६ मन्त्रालय राख्ने र एमालेलाई ५ मन्त्रालय दिने भन्ने विषयमा सहमति भएको थियो । उहाँहरु सहमत जस्तो पनि देखिनु भएको थियो तर अहिले आएर उहाँहरु ६ मन्त्रालय पाउनुपर्ने अडानमा आउनुभयो,’ ती प्रदेश सभा सदस्यले लोकपथसँग भने ।

एमालेसँग थप छलफल गरेर भोलि मात्रै दाबी पेस गर्ने र भोलि नै शपथग्रहण गर्ने तयारी रहेको छ । ती प्रदेश सभा सदस्यका अनुसार अहिले अन्य राजनीतिक दललाई सामेल नगरे पनि पछि उनीहरु आएमा कांग्रेस र एमालेबाट मन्त्रीहरुलाई फिर्ता बोलाएर अन्यलाई सरकारमा लैजाने तयारी रहेको छ ।

‘अहिले १३ मन्त्रालय रहेकोमा हामी कुनै पनि खाली राख्दैनौँ र अन्य दलहरुलाई पर्खिदैनौँ । पछि उहाँहरु सहमतिमा आएपछि बरु एमाले कांग्रेसका मन्त्रीहरुलाई फिर्ता बोलाएर उहाँहरुलाई त्यहाँ म्यानेज गर्नेछौँ,’ उनले भने ।

अहिले प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, माओवादी केन्द्र २१, राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी ७, नेपाल किसान मजदुर पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

११० सदस्यीय बागमती प्रदेशमा बहुमतका लागि ५६ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख शर्माले भोलि साउन ८ गते साँझ ५ बजेसम्मका लागि दाबी पेस गर्न समय दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?