लुम्बिनीको मुख्यमन्त्रीमा विष्णु पौडेल र शंकर पोखरेलको गुटगत लडाइँ

महासचिव पोखरेलको एक कल फोनमा लीला गिरी मुख्यमन्त्री बन्न सकेनन्

लोकपथ
3.9k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एमाले महासचिव शंकर पोखरेलबीच गुटगत लडाईं देखिएको छ । यो लडाईंमा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले जितेका छन् । उनले आफू पक्षधर चेतनारायण आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन सफल भएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउन सफल भएपछि पोखरेलले मुख्यमन्त्रीमा आचार्यलाई अघि सार्न सफल भएका हुन् । आचार्य मुख्यमन्त्री बन्दै गर्दा मुख्यमन्त्रीका प्रमुख दाबेदार लीला गिरी भने रिङबाटै ‘आउट’ भएका छन् । गिरी विष्णु पौडेल निकट मानिन्छन् । आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

सोहीअनुसार एमाले र नेपाली कांग्रेसले लीला गिरीको नेतृत्वमा सरकार गठन गर्ने भन्दै तयारीसमेत गरिरहेका थिए । तर, मुख्यमन्त्रीको लागि दाबी पेस गर्न एक घन्टा बाँकी रहँदा लीला गिरीको नाममा एकाएक ‘टिपेक्स’ लाग्यो । हातमै आइसकेको मुख्यमन्त्री पद उनीबाट खस्यो । र, मुख्यमन्त्रीमा अघि सारियो आचार्यलाई । लुम्बिनी प्रदेशमा गिरी एमाले संसदीय दलको नेतासमेत थिए । त्यसैले उनी नै मुख्यमन्त्रीको प्रमुख हकदार थिए ।

त्यहीअनुसार, एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र पनि तयार गर्दै थिए । अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचिन आचार्य भने लुम्बिनी प्रदेशसभामा संसदीय दलका उपनेता हुन् । अब आचार्यलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीमा अघि सारिने छ । तर अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले लीला गिरीको मुखैमा आइसकेको मुख्यमन्त्री पदमा टिपेक्स लाग्न पुग्यो । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको बताए । ‘यो पार्टी केन्द्रबाट आएको निर्देशन हो, बिहान महासचिव कमरेडले पार्टीको निर्णय हो चेतनारायण जीलाई मुख्यमन्त्री बनाउनुप-यो, भनेपछि हामीले पार्टी केन्द्रको निर्देशन पालना गरेका हौं,’ उनले भने ।

कँडेलले अन्तिम समयमा किन लीला गिरीको नाम हटाएर चेतनारायण आचार्यको नाम सिफारिस गरियो भन्ने आफूलाई जानकारी नभएको बताए । पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आइतबार आफूलाई मुख्यमन्त्री बनाउने भनेर दलको तर्फबाट समर्थन पत्र समेत दिइसकेका अवस्थामा पार्टीले केन्द्रबाट आज आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरी पठाएको उनले बताए । ‘यो सबै माथिबाटै भएको हो र रातारात त्यो परिवर्तन गरिएछ,’ उनले भने, ‘बाँकी कुरा अब आचार्य नै मुख्यमन्त्री बन्नु हुनेछ ।’

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका थिए । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री गिरीले ‘यो राजनीति हो र यो यस्तै हो,’ भन्ने प्रतिक्रिया दिए । ‘हिजो मलाई भनेका थिए, आज आचार्यलाई बनाउने भन्ने कुरा माथिबाट आयो, अब उहाँ नै हुनुहुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?