एनआईबिएल इक्विटी पाट्नर्सले डेलिज डेरिजमा लगानी गर्ने

लोकपथ
49
Shares

काठमाडौं । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाखको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ ।

एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो । २०८१ असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको बताइएको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नविनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ ।

यसबाट चितवनमा रहेको हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १०,००० लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्ने विश्वास लिइएको छ । त्यस्तै वितरण सञ्जालहरू बलियो बनाउँदै डेलिस उत्पादनहरूलाई नेपालभरका ग्राहकमाझ पु¥याउन सक्ने र घरेलु पूँजी बजारमा थप सकरात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्नेछ ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्त बहादुर पाँडेले यस सम्झौताबारे भने, ‘एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ । डेलिज डेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ । यस लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पु-याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ ।’

त्यसैगरी डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले भने, ‘एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पुँजी निष्काशनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको छ । यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउनेछ । यस लगानी मार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पु-याउने कुरामा हामी विश्वस्त छौं ।’

यो लगानी सम्झौताले एनआईबिएल इक्विटी पार्टनर्स र डेलिस डेरिजको रोमाञ्चक नयाँ अध्यायको सुरुवात गरेको छ । यस साझेदारीले नेपालमा विश्वास र गुणस्तरको ब्राण्ड बन्ने डेरिजको लक्ष्यलाई थप उर्जा दिने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?