सिफारिस भएर पनि दुई दिने एआईजी बन्न नपाएका पोषराज पोखरेलले गुहारे अदालत

सर्वोच्च प्रशासनद्वारा दरपीठ रिट दर्ता गर्न न्यायाधीश ढुंगानाको आदेश

लोकपथ
2.8k
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएर पनि नियुक्ति नपाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

एआईजी बढुवामा सिफारिस हुँदासमेत नियुक्ति नदिएको भन्दै पोखरेलले आइतबार (६ साउन) सर्वोच्च अदालत रिट निवेदन पेश गरेकोमा सर्वोच्च अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यसपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए ।

तर न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार (८ साउन)पोखरेलको मागबमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशबमोजिम अब पोखरेलको रिट दर्ता हुनेछ ।

बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेलले प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाएका छन् । १० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । यद्यपि, त्यसबेला एआईजीको दरबन्दी नै खाली थिएन । दरबन्दी खाली नहुँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेको दबाबमा उनलाई दुई दिनका लागि एआईजीमा बढुवाका लागि सिफारिस गरिएको भन्दै चर्को विरोधसमेत भएको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा राजनीतिमा नयाँ ट्विस्ट आयो । कांग्रेस र एमालेबीच १७ असारको मध्यराति सत्ता साझेदारीमा सहमति भएपछि उनको सिफारिस बेबारिसे बन्न गयो । र, उनी ५६ बर्से उमेरहदका कारण अनिवार्य अवकाशमा गए ।

१९ असारदेखि रिक्त हुन गएको एआईजी पदमा सोमबार मात्रै प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिकोे सोमबार बसेको बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको छ । एआईजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।

एआईजीमा सिफारिस जोशी आगामी कात्तिक १८ गते अवकाशमा जाने भएका छन् ।उनी एआईजीको ५६ बर्से उमेर हदका कारण त्यस दिन अवकाशमा जाने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?