हत्या गरिएका पूर्व राज्यमन्त्री रायको अनुसन्धानमा सघाउन सीआईबी टोली परिचालन

लोकपथ
336
Shares

काठमाडौं । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री लेखकले यस घटनाबारे जानकारी गराएका छन् । उनले अनुसन्धानका लागि सीआइबीबाट प्राविधिक टोली खटाइएको बताए ।

‘घटनाको थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्तिसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ,’ उनले भने ।

सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको प्राविधिक टोली अनुसन्धानमा सघाउनका लागि खटाइएको उनको भनाइ थियो । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय पूर्वराज्यमन्त्री रायको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । टाउकोमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव चन्द्रनगर–१ रतनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।

रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि उनको घरमा बस्दै आएका सहयोगी रामउजैन रायकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

सहयोगी रामउजैन रायले प्रहरीलाई दिएको जानकारीअनुसार पूर्वराज्यमन्त्री रायलाई भेट्न तीन जना व्यक्ति राति आएकोमा उनीसँगै सुतेका थिए । उनीहरुले नै पूर्वराज्यमन्त्री रायको हत्या गरेको हुनसक्ने वयान उनले प्रहरीलाई दिएका छन् ।

प्रहरी स्रोतका अनुसार श्राद्धमा गएका राय राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा थियो । उनीहरुले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए । जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो ।

त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदेलले प्रहरी समक्ष बताएका छन् । उनीहरु कुरा गर्न थालेपछि आफू सुत्न गएको र राति शौचालयमा जान उठ्दा पूर्वराज्यमन्त्री रायलाई उनको कोठामा रगतले लतपतिएको अवस्थामा आफूले देखेको उनको भनाइ छ ।

यद्यपि, प्रहरीले विभिन्न कोणबाट उनको वयानलाई विश्लेषण गरिरहेको अवस्था छ । पूर्वराज्यमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार पनि बरामद भएको छ । घरकै छेउको बाँसघारीबाट हतियार फेला परेको हो । सोही हतियार प्रयोग गरी उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रायका पत्नी र छोरा–बुहारी काठमाडौंमा बस्दै आएका छन् । उनी पनि केही दिनअघि मात्रै घरमा आएको खुलेको छ । पछिल्ला दिनमा घरमा एक जना कामदार र उनी मात्रै बस्ने गरेको पाइएको छ ।

राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए । मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनको एक श्रीमती २ छोरा तथा ५ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?