बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

काठमाडौं । देश संघीय संरचनामा गएपछि बागमती प्रदेशमा पहिलो ५ वर्ष एमाले र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले नै सरकार चलायो । एकल बहुमत ल्याएको एमालेले सुरुवातमा नै सरकारको नेतृत्व गर्ने अवसर पायो । त्यसबेला संसद् विघटन नभएको हुन्थ्यो भने एमालेले एक्लै ५ वर्ष नै सरकारको नेतृत्व गर्ने थियो । तर हठात रुपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबाट फुटेको दल एकीकृत समाजवादीले समेत सरकारको नेतृत्व गर्ने अवसर पायो ।

त्यसपछि प्रदेशको दोस्रो कार्यकालको निर्वाचनमा कांग्रेस पहिलो दल बने पनि निर्वाचनबाट हालसम्म सत्ताको नेतृत्व भने माओवादी केन्द्रले गर्‍यो। केन्द्रको सत्ता समीकरण अनुसार कहिले एमाले त कहिले कांग्रेसलाई साथमा लिएर माओवादीले सत्ताको नेतृत्वमा आफूलाई उभ्याए पनि अहिले भने माओवादी सत्ताबाट बाहिरिएको छ । त्यससँगै पहिलोपटक प्रदेशको नेतृत्व गर्न नेपाली कांग्रेस आइपुगेको छ ।

कांग्रेसका तर्फबाट प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बनेका छन् । लामा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । गत निर्वाचनमा नेपाली कांग्रेसले ३७ सिट जितेको छ । तर राजनीतिक किचलो र केन्द्रको समीकरणको पटकपटकको फेरबदलले कांग्रेस ठुलो दल भए पनि सरकार सञ्चालनबाट पछि परेको थियो । अहिले पनि केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलले कै कारण पूर्वआन्तरिक मामिला तथा योजनामन्त्री लामाले प्रदेशमै पहिलोपटक मुख्यमन्त्री बन्ने सौभाग्य पाएका हुन् ।

हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, माओवादी केन्द्र २१, राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी ७, नेपाल किसान मजदुर पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

को हुन् पहिलोपटक मुख्यमन्त्री बनेका लामा ?

नवनियुक्त मुख्यमन्त्री लामा प्रदेश सभामा जानुअघि नै संविधानसभा सदस्य र संघीय सांसद बनिसकेका पात्र हुन् । लामाको जन्म २०२७ साल कार्तिक ८ गते नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५ मनकामना भन्ने स्थानमा भएको हो ।
बुबा स्वर्गीय दिपबहादुर लामा र आमा स्वर्गीय पूर्णिमाया लामाको कोखबाट जन्मिएका लामा सानैदेखि सामाजिक काममा सक्रिय थिए ।

सानैदेखि हक्कि स्वभावका लामा गाउँकै स्कुलबाट निमाविसम्मको अध्ययन पूरा गरी जिल्ला सदरमुकाम विदूरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको शिक्षा हासिल गरेका छन् ।
लामाको एक छोरा र एक छोरी गरी दुई सन्तान छन् ।

यस्तो छ लामाको राजनीतिक इतिहास

२०४३ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएका लामाले शंकरदेव क्याम्पसबाट आफ्नो राजनीतिक सक्रियता बढाए । २०४५ सालमा तत्कालीन नुवाकोट क्षेत्र नं ३ बाट नेविसंघ क्षेत्रीय सभापति बनेका लामा जिल्ला उपसभापति हुँदै राजनीतिमा उदाएका पात्र हुन् ।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्ष निर्वाचित भएपछि उनको राजनीतिले थप नयाँ उचाइ लियो ।

२०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नुवाकोट क्षेत्र नं ३ बाट पराजित भएका थिए । तर २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का महासचिव स्वर्गीय पोष्टबहादुर बोगटीलाई हराउँदै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकबाट संघीय सांसद बनेका लामा कांग्रेसको १३औँ महाधिवेशन र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०७९ सालको निर्वाचनमा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘ख’ बाट लामा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए । राजनीतिका लागि सधैँ चर्चामा रहने जिल्ला नुवाकोटमा निर्वाचनका बेला नेता व्यवस्थापनको चुनौती त्यतिकै हुने गर्दछ ।

संघीय सांसद भइसकेका लामा नेता व्यवस्थापनको चेपुवामा परेपछि प्रदेशमा चुनाव लड्न पुगेका हुन् । एकातिर नेता व्यवस्थापन र अर्कोतिर मुख्यमन्त्री बनाउने शर्तमा प्रदेशमा झरेका लामा प्रदेशको सबैभन्दा ठुलो दलको नेता भए पनि बल्ल मुख्यमन्त्री बन्ने मौका पाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र रहेका लामा यसअघि नै प्रदेशको आन्तरिक मामिला तथा योजनामन्त्री बनिसकेका छन् । तत्कालीन समयमा केन्द्रमा सत्ता समीकरणको फेरबदल अर्थात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग मिलेपछि बागमतीमा २०७९ चैत २५ गते कांग्रेस सरकारमा सामेल भएको थियो । त्यसबेला लामा आन्तरिक मामिला तथा योजनामन्त्री बनेका थिए । तर पुनः प्रचण्डले कांग्रेससँगको साथ छोडेर एमालेसँग समीकरण बनाएपछि २०८० साल फागुन २३ गते लामासहित ६ मन्त्रीले राजीनामा दिएका थिए । अहिले पुनः केन्द्रको सत्ता समीकरणमा फेरबदल आएपछि कांग्रेस सरकारमा मात्र होइन सरकारकै नेतृत्व गर्ने गरी अघि आएको हो ।

संसदीय दलको नेता भए पनि मुख्यमन्त्री बन्न सकस

संविधान अनुसार केन्द्रमा प्रधानमन्त्रीदेखि प्रदेशमा मुख्यमन्त्रीसम्म सम्बन्धित दलको संसदीय दलको नेता बन्नुपर्ने प्रावधान छ । तर लामा दलको नेता भए पनि मुख्यमन्त्री बन्न भने थप जटिलता थपियो । लामासँगै संसदीय दलको नेतामा पराजित कांग्रेस प्रदेश सभापति समेत रहेका सांसद इन्द्र बाँनिया मुख्यमन्त्री बन्ने दौडमा थिए । केन्द्रमा दुवै संस्थापन अर्थात् शेरबहादुर देउवा निकट हुन् । केन्द्रमा नयाँ समीकरण अनुसार सरकार बनेसँगै बागमती प्रदेशको नेतृत्व कांग्रेसले गर्ने तय भयो । तर कांग्रेसका दुई नेताबीचको आन्तरिक किचलोका कारण मुख्यमन्त्री को बन्ने भन्ने विवाद बढेको थियो । दुवै नेताले पार्टी सभापति समक्ष अन्य नेताहरु लगाएर र आफैँ लबिङका लागि पुगेका थिए ।

विधान अनुसार नै मुख्यमन्त्री दलको नेता अर्थात् लामा बन्नुपर्ने लामा पक्षको तर्क थियो । तर प्रदेश सभामा संसदीय दलको भूमिका कमजोर रहेको भन्दै मुख्यमन्त्री बानियाँ अघि आउनुपर्ने बानियाँ निकटका नेताहरुको दाबी थियो । तर अन्तिममा भने लामालाई नै मुख्यमन्त्री बनाउने सहमति जुटेको हो ।

प्रदेशको पाँचौ मुख्यमन्त्री तथा कांग्रेसबाट पहिलोपटक मुख्यमन्त्री बनेका लामाले आफू र पार्टीको साखलाई स्मरणयोग्य बनाउँछन् या मुख्यमन्त्रीको फोटो मात्रै झुन्ड्याउनेछन् त्यो भने हेर्न बाँकी छ ।

यो पनि

बागमतीमा बहादुर कि बानियाँ ? : निर्णायक कोइराला पक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?