६ उद्योगमा बिजुली जोडियो, प्रधानमन्त्री ओली भन्छन्– बक्यौता जसरी पनि उठाइन्छ

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुबाट नियम अनुसार बक्यौता उठाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै तिर्न बाँकी रहेका उद्योगहरुबाट बक्यौता उठाइने बताएका हुन् ।

त्यस्तै विवादका कारण उद्योगहरु बन्द हुने र मजदुरको रोजगारी गुमाउने अवस्थाको सिर्जना नहुनेमा जोड दिए ।

‘नियम अनुसार विद्युत बक्यौता उठाइने छ!
हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले बाहिर आए जस्तो सरकार र विद्युत प्राधिकरणबीच कुनै समस्या नरहेको समेत स्पष्ट पारका छन् । गत असार २५ गते बक्यौता नतिर्ने ६ वटा उद्योगको बिजुली प्राधिकरणले काटेपछि तत्काल जोड्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । सोही अनुसार आज ३ महिनाभित्र बक्यौता तिराउने सर्तमा प्राधिकरणले बिजुली जोडिदिएको छ ।

‘यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन। अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ,’ उनले भनेका छन् ।

डेडिकेटेड र ट्रंकको सुविधा लिने उद्योगी र प्राधिकरणबीच निरन्तर विवाद हुँदै आइरहेको छ । त्यसको विषयमा प्रधानमन्त्रीको निर्देशनपछि माओवादी लगायत अन्य प्रतिपक्षले त्यसलाई नै मुख्य मुद्दा बनाइरहेका छन् । विभिन्न उद्योगबाट सरकारले २२ अर्ब भन्दा बढी बक्यौता लिन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?