लुम्बिनी प्रदेश सरकार : मुख्यमन्त्रीको शपथमा गएनन् एमाले नेता गिरी, बादशाह कुर्मी पनि बने मन्त्री

लोकपथ
1.1k
Shares

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुधबार बिहान पद तथा गोपनियताको शपथ लिएका छन् । साथै एमाले–कांग्रेसका ८ जना बिनाविभागीय मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।

लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका आचार्य मुख्यमन्त्री बनेका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएको छ । तर कांग्रेसमा विवाद भएपछि मन्त्रीको सूचीमा रहेका जन्मजय तिमिलसिनाको नाम अन्तिममा काटिएको छ । कांग्रेसबाट मन्त्री हुनेहरुमा गुल्मीका धनेन्द्र कार्की, प्युठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी छन् ।कांग्रेसबाट अहिले मन्त्री बनाइएकामध्ये रोज राणा मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।

यसैबीच बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइएको भन्दै आलोचना सुरु भएको छ । जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् । २०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ । घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ ।

प्रतिवेदनमा लेखिएको छ, ‘विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगे ।’ त्यसपछि निर्मलालाई बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख छ ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् ।

यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी भएका छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ ।
८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।

मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लीला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् । गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण शपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?