रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारका लागि के गर्दैछ सरकार ?

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताइन् ।

उनले भनिन्, ‘अहिले रसियामा पररष्ट्र मन्त्रालयले त्यति सक्रिय भएर काम गर्न सकेको रहेनछ । यो युद्धको कारणले गर्दा र हाम्रो नेपालको रुसमा रहेको राजदूतावास मार्फत पहल गर्नुपर्छ भनेर यो भन्दा अगाडिको मन्त्रीहरुलाई पनि जानकारी दिएको र त्यही अनुरुप हाम्रो राजदूतावासले कुराहरु गरिरहेको छ । निरन्तर पहल भइरहेको छ ।

नेपालीहरु जो रसियन सेनामा छन्, ३२१ जनाको मात्र रेकर्ड छ । त्योभन्दा बढि पनि छ भन्ने छ तर हामीसँग रेकर्ड छैन् ।’
उनका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ । हालसम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन् ।

यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एकजना फर्कि सकेको छ । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ । हालसम्म उद्धारका लागि निवेदन परेको ३२३ जना छन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेका छन् ।

यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरु देखि नै उच्च स्तरी तहमा दुई पक्षिय र बहु पक्षिय कूटनीतिक पहल निरन्तर रुपमा गरिरहेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?