काठमाडौं जिल्ला अदालतमा एक वर्षमा २३ हजारभन्दा बढी मुद्दा फर्स्यौट

सम्बन्धविच्छेदको मुद्दा दोस्रो नम्बरमा

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा गत आर्थिक वर्षमा २३ हजारभन्दा बढी मुद्दा फर्स्यौट भएको छ । जिल्ला अदालतको इतिहासमै सबैभन्दा धेरै मुद्दा फर्स्यौट भएको हो ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८०।०८१ मा २३ हजार २९१ थान मुद्दा फर्स्यौट भएको हो, जुन इतिहासकै सबैभन्दा धेरै हो ।

स्रेस्तेदार शर्माका अनुसार लगतमा रहेको ४९ हजार ८२७ थान मध्ये २३ हजार २९१ थान मुद्दा फर्स्यौट गरी लगतको ४६ दशमलव ७४ प्रतिशत मुद्दा फर्स्यौट भएको हो ।

काठमाडौं जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मुद्दाको सङ्ख्या २१ हजार २८५ थान रहेको थियो भने गत आर्थिक वर्षमा २८ हजार ५५८ थान नयाँ मुद्दा दर्ता भएको थियो ।

अदालतमा दुई वर्ष कटेका मुद्दा १ हजार ८ सय ६६ थान बाँकी रहेको र सो सङ्ख्या कुल लगतको ३ दशमलव ७८ प्रतिशत मात्रै रहेको स्रेस्तेदार शर्माले बताए ।

त्यसैगरी अदालतले फैसला कार्यान्वयनतर्फ पनि ५ हजार १८५ थान मध्ये २ हजार ६०७ थान मुद्दा फर्स्यौट गरी ५० दशमलव २८ प्रतिशत रहेको छ । अदालतले गत आर्थिक वर्षमा १२ हजार १९ वर्ष ८ महिना ७ दिन बराबरको कैद सजाय फर्स्यौट गर्नुपर्नेमा ७ हजार ८९१ वर्ष, ३ महिना २१ दिन बराबरको कैद सजाय फर्स्यौट भएको छ भने ९ अर्ब ५१ करोड ११ लाख ५८ हजार ६५४ रुपैयाँ बराबरको जरिवाना समेत असुल गरेको छ ।

सबैभन्दा बढी मुद्दा बैंकिङ कसुरका, दोस्रोमा सम्बन्ध विच्छेद
काठमाडौं जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा रहेका छन् । गत आर्थिक वर्षमा अदालतमा ७ हजार ९५७ थान मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् । बैंकिङ कसूरको अधिकांश मुद्दा चेक बाउन्ससँग सम्बन्धित छ ।

त्यसैगरी काठमाडौं जिल्ला अदालतमा दर्ता भएको दोस्रो मुद्दामा सम्बन्ध विच्छेदको मुद्दा रहेको छ । काठमाडौं जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका लागि ४ हजार ४६६ थान मुद्दा दर्ता भएका छन् ।

अदालतले बुधवार पत्रकार भेटघाट गरी दिएको जानकारी अनुसार अधिकांश सम्बन्धविच्छेद ३० वर्षभन्दा मुनिका युवायुवतीबिच भएको छ । काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलका अनुसार सम्बन्ध विच्छेदका लागि आउने अधिकांश युवायुवतीको उमेर ३० वर्षभन्दा कम नै रहेको छ । अधिकांश सम्बन्ध विच्छेदको कारण वैदेशिक रोजगार र लङ्ग डिस्टेन्स रिलेसन नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?